site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । एमाले र नेपाली कांग्रेसबीचको समझदारीअनुसार अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित हुने उनले उल्लेख गरे ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज पार्टीका केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताए । उनले दुई बलिया शक्ति मिलेर सरकार गठन गर्ने कुरा देशका समस्या समाधान गरी अगाडि बढ्ने अन्तिम विकल्प भएको प्रष्ट पारे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अध्यक्ष ओलीले अब बन्ने सरकारले विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारका कामका लागि समाधानसहित ठोस सुझाव दिन पार्टीका विभागका पदाधिकारीहरूलाई निर्देशन दिए । उनले  पार्टीको नेतृत्वमा सरकार बने पनि सरकारको काम र पार्टीको काम फरक विषय भएकाले पार्टी निरन्तर मिसन–२०८४ मा लाग्ने बताए ।

पार्टीका लागि मिसन–२०८४ सफल पार्ने कुरा प्रमुख भएकाले सरकारमा रहेका कारण यस अभियानलाई कुनै पनि हालतमा कमजोर र सिथिल पार्न नहुने उनको भनाइ थियो । उनले विभाग प्रमुख तथा सचिवहरूलाई  मिसन–२०८४ लाई केन्द्रविन्दुमा राखेर पार्टीको काममा लाग्न निर्देशन दिए । रासस

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  २३:२६
प्रतिक्रिया दिनुहोस्