site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अन्जु पन्तको गीत सम्झाउँदै बर्तौलाले भने– प्रेम एउटासँग लिभिङ टुगेदर अर्कोसँग

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस र एमालेबीच सहकार्यको बीच बाटोमा एकअर्कालाई लात्ता हानेर नहिँड्ने समझदारी भएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राष्ट्रिय सहमतिको सरकार भएको र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जस्तै प्रेम एकातिर लिभिङ टुगेदर अर्कैतिर नगर्ने समझदारी भएको बताए । “एकले अर्कालाई बीचमा हिँड्दा हिँड्दै लात्ता नहान्ने समझदारी भएको छ । प्रेम एउटासँग लिभिङ टुगेदर अर्कोसँग यस्तो नगर्ने पनि सम्झौता भएको छ । उथलपुथल नगर्ने हामी बीचमा सहमति भएको छ,” उनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गायिका अन्जु पन्तको गीत ‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र..’ गीत स्मरण गराउँदै उनले सुरुमा भने, “वर्तमान सरकारलाई एमालेको तर्फबाट दिएको समर्थन फिर्ता लियौँ । सबै मन्त्रीले राजीनामा दिनुभयो । बालुवाटार पुगेर राजीनामा बुझाउँदा एउटा गीत गाउनुभयो, यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले गीत गाउनुभयो । अन्जु पन्तको गीत स्मरण गराउन चाहन्छु तिमीले पराई ठानेपछि पराई हुन के भयो र ।” 

उनले प्रधानमन्त्री प्रचण्डको चुलबुले स्वभाव उथलपुथुलको कार्यशैलीको मारमा एमाले परेको उल्लेख गरे । आफूहरू सरकारबाट बाहिँरिदा कांग्रेसले पनि साथी खोजिरहेको र आफूहरू पनि साथीको खोजीमा रहेको अवस्थामा नयाँ समीकरण बनेको उल्लेख गरे । “प्रमबाट कहिले कांग्रेस कहिले एमालेलाई गैडाले माया गरेर चाटे जस्तो गर्नुभयो, त्यसले कहिले कांग्रेस कहिले एमालेको स्वरुप बिगार्नुभयो तर देख्दा माया गरेको देखियो,” उनले भने । 

उनले अहिले अपारदर्शी सम्झौता भएको भन्दै कांग्रेससँगको सम्झौता होइन सहमति भएको उल्लेख गरे । रास्वपाका केही मन्त्री गोजीमा राजीनामा बोकेको भन्दै सरकार बहुमतमै हुँदा भाषण गर्ने गरेको बताए । तर, अहिले राजीनामा दिन केले रोक्यो भन्दै प्रश्न गरे । 

साथै उनले जतिबेला पनि फाइल खोल्छु भन्ने धम्की दिएको भन्दै थपे, “जति दिन पदमा रहनुहुन्छ फाइल खोल्नुहोस्, धम्की मात्र दिएर पुग्छ ? संसद्को हार्ड डिक्समा मात्र होइन हाम्रै दिमागमा पनि सुरक्षित छ ।”

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्