site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१५ दिनमा ३२७ अंकले बढ्यो सेयर बजार, ‘बुलिस ट्रेन्ड’तर्फ लागेको हो ?

काठमाडौं । नयाँ सरकार बन्ने हल्लासँगै उकालो लाग्न थालेको धितोपत्र दोस्रो बजार मापक नेप्से पछिल्लो १५ दिनमा ३२७ अंकले बढेको छ । असार १६ गतेयताको तथ्यांक हेर्दा बजार साउन २ गतेसम्म १६.०७८ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, असार १६ गतेपछि दुई दिनमात्र बजार घटेको छ । १६ गते १४.८३ अंकले बजार घटेको थियो । तर, त्यसपछि उच्च अंकले बजार बढ्दै गएको छ । गत असार १७ गते संसद्को पहिलो ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमालेबीच गठबन्धन हुने खबर सार्वजनिक भएपछि बजार उच्च अंकले बढ्न थालेको थियो । 

असार १८ गते त बजार दुई पटकसम्म सकारात्मक ‘सर्किट’ लागेर ४७.०४ अंकले वृद्धि भई २१ सय बिन्दुमा बन्द भयो । त्यसपछि अर्थमन्त्रीमा विष्णु पौडेल आउने हल्ला चलेसँगै लगानीकर्ता उत्साहित भएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हालसम्म पौडेल पाँच पटक अर्थमन्त्री बनेका छन् । उनी अर्थमन्त्री हुँदा जहिले पनि बजारले उच्च बिन्दु कायम गर्ने गरेको छ । पहिलो पटक अर्थमन्त्री भएको अवधिमा बजारले एक हजार बिन्दुबाट १८०० बिन्दु पार गरेको थियो ।
 
त्यस्तै, दोस्रो र तेस्रो पटक अर्थमन्त्रीको कार्यकाल समाल्दा बजारले साढे १५ सयको बिन्दुबाट ३२ सय बिन्दु पार गरेको थियो । त्यस्तै चौथो कार्यकालका लागि पौडेल अर्थमन्त्री हुँदा १८ सय बिन्दुमा भएको बजार २२ सय बिन्दु पार गरेको थियो । यो अवधिमा उनी मात्र ६४ दिन अर्थमन्त्री बनेका थिए । 

विष्णु पौडेल अर्थमन्त्री हुँदा सेयर बजारले रूचाउने गरेको लगानीकर्ताहरू पनि बताउँछन् । तर, सेयर बजारका विज्ञ भने विष्णु पौडेलको नाम लिएर बजारलाई उचाल्दा आमलगानीकर्ता फस्न सक्ने जोखिम बढेको बताउँछन् ।

“सेयर बजारको नियम भनेको बट्ने र बढ्ने नै हो । बजार सधै घट्ने मात्र र बढ्ने मात्र हुँदैन,” ती विज्ञले भने ।

तर उनी बजार स–साना ‘करेक्सन’सहित उकालो लाग्नु पर्नेमा हालको बढाइँलाई सहज रूपमा हेर्न नहुने बताउँछन् । उनी भन्छन्, ‘‘अर्थमन्त्रीकै कारणले बढेको भन्ने पनि हल्ला चलाइएको छ । त्यो हैन । बजार बढ्ने समय भएको हो । तर, बुलिस ट्रेन्ड नै भन्ने बेला भएको छैन ।”

एमालेबाट अर्थमन्त्री बनेका पौडेल पहिले अर्थमन्त्री बन्दा सधैँ बजार बढ्ने भएकाले पनि लगानीकर्ताको मनोबल बढेको हुन सक्ने ती विज्ञ बताउँछन् । तर, ‘बुलिस ट्रेन्ड’मा जान सानातिना ‘करेक्सन’ हुने उनको भनाइ छ । 

अबका केही दिनलाई हेरेर मात्र ‘बुलिस ट्रेन्ड’को परिभाषा दिन नहुने ती विज्ञ बताउँछन् । कारोबार रकमलाई हेर्दा ‘बुलिस ट्रेन्ड’को केही संकेत देखाउन थालेको उनको भनाइ छ । 

सेयर विश्लेषक रविन्द्र भट्टराई पनि ‘साइडवेज’ बजारको अवरोध तोडेर बुलिस बजारलाई पछ्याएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँछन् । 

“जब साइडवेज बजारको अवरोधलाई तोडेर बजारमाथि जान्छ यसलाई ब्रेकआउट भनिन्छ भने टेवालाई तोडेर बजार तल गएमा यसलाई ब्रेकडाउन पनि भनिन्छ,” उनले लेखेका छन्, “ब्रेकआउटले बुलिस बजारलाई पछ्याउँछ भने ब्रेक डाउनले वियरिस बजारलाई पछ्याउँछ ।”

यतिखेर स्थायी सरकार बनेकाले पनि लगानीकर्ता सकारात्मक बनेको सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुलेल बताउँछन् ।   उनका अनुसार राष्ट्र बैंकले लिएका सेयर बजार लक्षित नीतिहरूलाई खुकुलो बनाउने संकेतले पनि लगानीकर्तामा उत्साह जागेको फुलेल बताउँछन् । 

“एमाले र कांग्रेसको नयाँ सरकार बनेसँगै राष्ट्र बैंकले कडाइ गरेका सेयर बजार लक्षित नीति केही खुकुलो हुने देखिएको छ,” फुलेलले भने ।

उनका अनुसार, राष्ट्र बैंकले सेयर ऋणमा लगाएको १५÷२० को क्याप हटाउँछ भन्ने पनि लागेको छ । बैंक वित्तीय संस्थालाई सेयर किन्न खुकुलो नीति बनाउँछ भन्ने आशा पनि लगानीकर्तामा छ ।

पौडेल अर्थमन्त्री हुँदा सबैका कुरा सुन्ने र अवस्था हेरी अनुकूल नीति लिने गरेको पनि फुलेलको भनाइ छ । पछिल्लो दिनको कारोबार रकमलाई हेर्दा पनि बजारले एउटा लय लिएको उनी बताउँछन् ।

त्यसैगरी स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा पनि हालका अर्थमन्त्री सबैलाई सुन्ने र सोही अनुसारका नीति बनाउनतर्फ लाग्ने भएकाले सबैले विश्वास गरेको बताउँछन् ।  यसअघिका कार्यकालमा उनी सफल भएकाले यो कार्यकालमा पनि अर्थतन्त्रका सूचक हेर्दा पनि सफल हुने देखिएको सापकोटाको भनाइ छ ।
 
नेप्सेका अनुसार, दैनिक सेयर कारोबार रकम बढ्दै गएको छ । गत आइतबार सात अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार भएका थियो भने त्यसयता बढ्दै गएर बुधबार १२ अर्ब पाँच करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

मंगलबार र बुधबार मात्र बजार १२४ अंकले उकालो लागेको छ । त्यस्तै दुई दिनमा २१ अर्ब १९ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  बुधबार बजार ५४ अंकले बढ्दा १२ अर्ब पाँच करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०९:१६
प्रतिक्रिया दिनुहोस्