site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बाइडेनले कमलालाई प्रस्ताव गर्दा यसकारण भएछन् ओबामा ‘स्तब्ध’

वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोर्क्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेका उमेदवार कमला ह्यारिसलाई हालसम्म समर्थन गरेका छैनन् । उनले डोनाल्ड ट्रम्पलाई जित्छिन् भन्ने ओबामालाई विश्वास नभएकाले यस्तो भएको राष्ट्रपति बाइडेनको पारिवारिक स्रोतलाई उद्धृत गर्दै न्युयोर्क पोस्टले जनाएको छ ।

राष्ट्रपति बाइडेनले गएको आइतबार अचानक राष्ट्रपति पदको उमेदवारी छोडेका थिए । लगत्तै उनले उक्त पदका निम्ति उपराष्ट्रपति कमलालाई अनुमोदन गरेका थिए ।

त्यसपछि डेमोर्क्र्याटिक पार्टीका अधिकांश ‘एलिट’ले कमलाको समर्थन गरेका  थिए । तर, ओबामा उल्लेख गर्न योग्य अपवाद भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बाइडेन परिवार स्रोतले भन्यो, “ओबामा निकै निराश छन्, किनकि ह्यारिसले जित्न सक्दिनन् ।”

ओबामाका हिसाबले कमला किन योग्य नभएकी हुन् भने सीमाको भ्रमण उनले कहिल्यै गरेकी छैनन्, त्यो निकै महत्त्वपूर्ण छ । यस्तै, आप्रवासीको स्वास्थ्य बिमा हुनुपर्नेजस्ता ल्यान्डमाइन (वारुदे सुरुङ)पार गर्नुपर्ने जिम्मेवारी उनमा छ ।

यदि, कोही राष्ट्रपति पदका निम्ति दौडिरहेको छ भने उसले आफूले गर्न सक्ने र नसक्ने काम भन्न सक्ने हुनुपर्ने ओबामाले जनाएको स्रोतलाई उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको छ ।

ट्रम्पसँगको पहिलो ‘डिबेट’ प्रतिस्पर्धामा बाइडेनको कमजोर प्रस्तुति भएको भनेर उनकै पार्टीबाट आलोचना गरिएपछि उमेदवारी छोड्न बाध्य भएका थिए । दोस्रो डिबेटको मिति सेप्टेम्बर १० का लागि तोकिएको छ ।

बाइडेनको पारिवारिक स्रोतलाई उद्धृत गर्दै उक्त पत्रिकाले कमलाबारे भनेको छ, “डिबेटसम्म पर्खिनुस्, उनले डिबेट गर्न सक्दिनन् । उनले त्यहाँ इजरायल, प्यालेस्टाइन र युक्रेन मामिलामा एकथोकलाई अर्कैथोक भन्नेछिन् । उनले वास्तवमै केही मूर्ख कुरा गर्नेछिन् ।”

पत्रिकाले स्रोतलाई उद्धृत गर्दै अगाडि भनेको छ, “ओबामालाई यो हुन्छ भन्ने थाहा छ, बाइडेनलाई पनि थाहा छ । त्यसैले उनले यो प्रश्नको जवाफ दिनुपर्ने हो ।” 

उक्त घटनाक्रमबारे ह्वाइट हाउससँग जवाफ माग्दा कुनै प्रतिक्रिया नजनाइएको समेत उल्लेख गरिएको छ ।

ओबामाले बाइडेनलाई दौडबाट बाहिर लैजान मात्र चाहेको जर्ज क्लोनीले न्युयोर्क टाइम्समा लेखेको लेखमा जनाइएको थियो । तर, बाइडेनले तत्कालै कमललाई प्रस्ताव गरेकाले ओबामा ‘स्तब्ध’ भएको जनाइएको छ ।

ओबामाले उक्त पदका निम्ति एरिजोनाका सिनेटर तथा अन्तरिक्षयात्री मार्क केलीलाई उमेदवार बनाउन चाहेको समेत स्रोतलाई उद्धृत गर्दै जनाइएको छ ।

तर, आफूले सोचेअनुसार प्रक्रिया अघि नबढेकाले ओबामा ‘क्रुद्ध’ भएको समाचारमा उल्लेख छ । त्यसैले उनले कमलालाई समर्थन नगरेको बाइडेननिकट स्रोतले बताएको छ । न्युयोर्क पोस्टबाट ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्