site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् गठन र कार्यविभाजन

भनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा मन्त्रिपरिषद् गठन र कार्यविभाजन गरेका छन् । 

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख मियाँले नेपाली कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री तथा राज्यमन्त्री नियुक्ति तथा कार्यविभाजन गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यविभाजनअनुसार बहादुरसिंह थापा आर्थिक मामिला, सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास, मेघराज खड्का सामाजिक विकास, लक्ष्मणकिशोर चौधरी उद्योग, पर्यटन, वन, तथा वातावारणमन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र वीरबहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त भएका छन् । यस्तै, प्रकाशबहादुर बम आर्थिक मामिला, सरस्वती खड्का सामाजिक विकास र निर्मला साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

आर्थिक मामिलामन्त्रीमा नियुक्त थापा र सामाजिक विकासमन्त्रीमा नियुक्त खड्का, राज्यमन्त्रीमा नियुक्त प्रकाशबहादुर बम र सरस्वती खड्का कांग्रेसका सांसद हुन् ।

भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त पाल, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा नियुक्त थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त सार्की एमालेका सांसद हुन् । यस्तै, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् । राज्यमन्त्रीमा नियुक्त निर्मला साउद एमालेकी सांसद हुन् ।

प्रदेश प्रमुख मियाँले धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नेपालको संविधानको धारा १७२ बमोजिम नवनियुक्त मुख्यमन्त्री र मन्त्रीलाई छुट्टाछुट्टै रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गराए । सोही समारोहमा मुख्यमन्त्री शाहले नवनियुक्त राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराए ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाह एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । रासस

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्