site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रविको प्रश्न– दलहरू जोडिएको भ्रष्टाचारका काण्डमा प्रधानमन्त्रीको प्रतिबद्धता के हो ? 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दल जोडिएका भ्रष्टाचारमा प्रधानमन्त्रीको प्रतिबद्धता के हो भन्दै प्रश्न उठाएका छन् । 

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन २०३९ को संशोधनसम्बन्धी विधेयकको छलफलमा भाग लिन पुगेका प्रधानमन्त्रीको भ्रष्टाचार गर्दिन र कसैलाई पनि गर्न दिन्न भन्ने प्रतिबद्धतामा लामिछानेले प्रश्न गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“भ्रष्टाचारको विषयमा राजनीतिक दलहरू नै संलग्नता जगजाहेर छ । ठूलठूला भ्रष्टाचारको काण्डमा राजनीतिक दलको संलग्नता छ,” लामिछानेले भने, “प्रधानमन्त्रीज्यूको राजनीतिक प्रतिबद्धताका लागि धन्यवाद, पहिला पनि यो प्रतिबद्धता सुनेकै हो । तर, राजनीतिक दल संलग्न भ्रष्टाचारमा यति प्रतिबद्धताले पुग्छ र ?” 

उनले अहिलेसम्म प्रश्न उठेर जवाफ नखोजिएका काण्डहरू पनि प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरे । “टेरामक्स, वाइडबडी, यति, ओम्नी, सेक्युरिटी प्रिन्टिङ, गिरीबन्धु, बाँसबारी, टिकापुर जग्गा, बालमन्दिरलगायत जति पनि राजनीतिक दल र नेता संलग्न विषय छ, यसमा अहिलेको तपाईंले प्रतिबद्धताले मात्र पुग्छ र ?,” प्रश्न उठाउँदै उनले भने, “सरकारमा संलग्न भएको राजनीतिक दलको संलग्नता रहेको भ्रष्टाचार काण्डमा प्रमज्यूको प्रतिबद्धता के हो ?” 

उनले अन्य राजनीतिक दल र नेताहरूको विश्वासले मात्र नपुग्ने भन्दै जनतालाई कसरी आश्वस्त पार्ने भनेर प्रश्न गरेका थिए । “हामीलाई विश्वास भएर पुग्दैन, आम जनतालाई विश्वास चाहिन्छ,” लामिछानेले भने, “मलाई विश्वास छ, प्रमज्यूले चाहनुभयो भने सक्नुहुन्छ, तर कति चाहनुहुन्छ भन्ने मुख्य कुरा हो ।” 

उनले दुई ठूला दलमध्ये एउटा दल प्रतिपक्षमा भएको भए भ्रष्टाचार नियन्त्रण सहज हुने भन्दै अहिलेको अवस्थाले भ्रष्टाचार निवारण सहज नहुने तर्क गरे ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्