site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बग्दै गरेको वाग्मती 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बग्दै गरेको वाग्मतीमा 
लासहरू किनारा लाग्दै गए
वाग्मतीको प्रवाहसँगै लास बगेनन्
वाग्मतीले आफ्नो प्रवाहसँगै 
लास बगाउन चाहिनन्
ती लासहरूसँगै वाग्मती 
आफू प्रदूषित हुन चाहिनन्
वाग्मती मैलो हुन र
अशुद्ध हुन चाहिनन्

लास सडेगलेको थियो
काँधमा लास उठाउने र
मलामी जाने कोही थिएन 
लासमाथि 
राष्ट्रिय झन्डा र 
कुनै पार्टीको झन्डा ओढाउने 
कुनै नागरिक थिएन 
परिवारले 
समाजले 
गाउँले र
सहरले 
लास वाग्मतीमा फ्याँकेका थिए
कुनै मसान साधना गर्ने
अघोरीले पनि त्यो लासमाथि 
साधना गर्न अयोग्य ठानेको 
कसको लास थियो त्यो ?
केही लासहरूको वाग्मती किनारमा 
दाहसंस्कार हुँदै थिए 
केही लासहरू वाग्मतीको प्रवाहसँगै बग्दै पनि थिए
केही लासहरू 
वाग्मतीले आफ्नो प्रवाहसँगै बगाइनन्

ती लास दुर्गन्धित थिए
यौटा लासभित्र
मर्न बाध्य बनाइएका 
अनेकौँ लास थिए
ती लास दुर्गन्धित थिए
जसलाई वाग्मतीले
किनारमा छोडिदिइन् र
संस्कार विधि हुन पाएन
कसको लास थियो त्यो ? 
त्यो लास 
डाक्टरको थिएन
त्यो लास कुनै मन्दिरको पुजारीको थिएन
कुनै न्यायालयको न्यायाधीशको पनि थिएन र
त्यो लास कुनै स्कुलको 
कलेजको शिक्षकको पनि थिएन 
त्यो लास कसको थियो ?
त्यो लास थियो
सरकारको !
 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्