site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रष्टले दुई हातमाथि उफ्रिएर भ्रष्टाचारविरोधी नारा लगाउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रणाली उपयुक्त छ/छैन भनेर छलफल गर्ने बेला नभएको बताएका छन् । आइतबार पार्टी मुख्यालय च्यासलमा नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकमा उनले व्यवस्थालाई सुदृढ बनाएर लैजानुपर्ने बताए ।

“हामीले स्थापना गरेको प्रणाली उपयुक्त छ कि छैन भनेर छलफल गर्ने पनि गर्ने बेला भएको छैन । बेला होइन यो,” उनले भने, “जे प्राप्त गरेका छौँ, त्यसलाई सुदृढ गर्ने, प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, सफल बनाउने र अगाडि जाने बेला हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले लोकतन्त्र छाडा शासन नभएको बताए । नीति, कानुन मान्दिनँ भन्ने सनकका अभिव्यक्तिले कहीँ नपुर्‍याउने उनले उल्लेख गरे ।

“कुनै योगदान नभएकाको तारिफका पुल दुई–चार वर्ष सामाजिक सञ्जालबाट बनाएर महान् बनाउन खोज्ने, जसले देशको लागि काम गरेको छ, तिनीहरूलाई बदनाम, अपमान गरेर हुर्मत लिन खोज्ने संगठित प्रयास भएका छन्,” उनले भने ।

वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणका निम्ति बनेको उनले बताए । “सरकार स्टन्टबाजी र भ्रष्टाचार छोप्न बनेको होइन,” उनले भने । सरकारले अनुहार हेरेर कसैलाई फसाउने र बचाउने नगरिने उनको भनाइ थियो ।

उनले भ्रष्टाचारीले ठूलाठूला नारा लगाउने गरेको पनि बताए । भ्रष्टाचार नियन्त्रण गर्छु भन्नेहरूलाई उल्टै उनीहरूले आरोप लगाउने गरेको उनको जिकिर छ ।

“जो भ्रष्ट छ, उसले भ्रष्टाचारविरोधी नारा अझ दुई हातमाथि उफ्रिएर कराएर लगाउँछ । जो भ्रष्ट छ, उसले भ्रष्टाचारविरोधी नाटक गरेर जनता अल्मल्याउँछ । जो भ्रष्टाचारविरोधी छ, उसलाई भ्रष्टाचारी भनेर बदनाम गराउन खोज्छ,” प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्