site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रमणले नेपाल–भारत आपसी सद्भाव अभिवृद्धि भएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएकी छन् ।  

भारतको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस भ्रमणबाट दुई मुलुकका बीचमा रहीआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको बताइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री डा. राणाले भनिन् “भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गदर्शन समेत गरेको मैले विश्वास लिएको छु ।” 

उनलेृ भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा गत आइतबार नयाँदिल्ली गएको र दुई देशको उच्चस्तरीय भ्रमण आदानप्रदानको कार्यक्रमअनुसार नै यो भ्रमण भएको बताइन् ।  भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रुपमा भेटवार्ता भएको तथा ती भेटमा नेपालको हित र चासोका साथै आपसी हितका विविध विषयहरुमा कुराकानी भएको जानकारी दिइन् ।

भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँदिल्लीमा शिष्टाचार भेट भएको र नेपाल र भारतबीच रहीआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने वषयमा विचारको आदानप्रदान भएको उनले जानकारी दिइन् ।  

साथै त्यसअवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र पनि हस्तान्तरण गरेको मन्त्री डा. राणाले बताइन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्