site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘लेखा समिति मात्रै किन ? चाहिन्छ भने प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि तपाईंहरूसँगै राख्नोस्’ 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखा समिति नदिन अनेक जालझेल गरेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले लेखा समितिको सभापति मात्र होइन, आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैसँग राख्न सत्तारूढ दलहरूलाई चुनौती दिए । 

“अहिले संसद्मा प्रतिपक्षले लेखा समिति पाउनुपर्ने हो । तर, त्यो नदिन अनेकतर्क गर्न थालिएको छ,” उनले भने, “सभापति पाउन राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको उपभामुख छोड्नुपर्ने सर्त राखिँदैछ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सत्तापक्षले माफियाको सेवा गर्न यस्तो भनिएको आरोप लगाए । “किनकी माफियाको यति धेरै सेवा गर्नु छ कि त्यसका लागि सिंगै दुईतिहाइको सरकार समेत पर्याप्त छैन, समिति पनि चाहिन्छ । यसबीचमा लेखासमितिमा देखिएका दृश्यले त्यही भन्छ,” प्रचण्डले भने, “तर, सुन्नुहोस् कांग्रेस–एमालेका साथीहरू, हाम्रो भूमिका खोसेर तपाईंहरू हामीलाई जनताको आवाज उठाउनबाट रोक्न सक्नुहुन्न ।” 

उनले लेखा समिति मात्रै नभएर प्रतिपक्षको नेताको हैसियत पनि राख्नुभन्दै कटाक्ष गरे । “मेरो च्यालेन्ज भयो, लेखा समिति मात्रै किन ? चाहिन्छ भने प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि तपाईंहरूसँगै राख्नोस् । हामीले हिजो केवल एउटा जिम्मेवार नागरिकका रूपमा तपाईंहरूको कुशासनको प्रतिरोध गरेका हौँ, आज पनि हामी त्यो हिम्मत र हौसला राख्छौँ,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्