site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वैदेशिक रोजगारीबाट फर्किएका धादिङका युवाको औँठी खोसेर ४२ हजार मागियो 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका विषयमा गम्भीर प्रश्न उठेको छ । वैदेशिक रोजगारीबाट फर्किदा ल्याउन पाउने मात्राको सुन नै नियन्त्रणमा राखेर ४२ हजार मागिएको विषय मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले उठाएका हुन् । 

“वैदेशिक रोजगारीमा गएका मान्छेहरू फर्केर आउँदा ५० ग्राम सुन ल्याउन दिने भन्ने व्यवस्था गरिएको छ । त्यसमा महिलालाई ५० ग्राम र पुरुषलाई २५ ग्राम भनेर लेखिएको रैछ,” सांसद लिम्बूले भने, “धादिङ निवासी रामकृष्ण विकको मलेसियाबाट आउँदा २० ग्रामको औँठी खोसेर राखियो र ४२ हजार नतिरी त्यो २० ग्राम सुन दिएको अवस्था छैन ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले वैदेशिक रोजगारीबाट आउने युवामाथि विभेद भएको बताए । वैदेशिक रोजगारीमा गएका युवाहरूले पठाएको रेमिट्यान्सले देश चलाउने र उनीहरूलाई नै अपमानित गर्ने कुरा अनुचित भएको लिम्बूको भनाइ थियो । “सभामुख महोदय, यो खालको विभेद गरिएको देखियो,” लिम्बूले भने, “वैदेशिक रोजगारीमा गएकाहरूको रेमिट्यान्सबाट देश चलाउने अनि उनीहरूलाई अपमान गर्ने कुरा उचित हुँदैन ।” 

लिम्बूले कांग्रेस–एमाले सरकार बनेपछि सुकुम्बासीहरू उत्साहित बनेको भन्दै उनीहरूलाई जग्गाधनी पूर्जा दिने काम ढिला नगर्न पनि उनले आग्रह गरे । “नेपाली कांग्रेस र एमालेको सरकार बनिसकेपछि देशभरी खुसी छाएको अवस्था थियो र सुकुम्बासीहरू अब जग्गाधनी प्रमाणपूर्जा प्राप्त गर्ने आशामा छन्,” लिम्बूले भने, “त्यसको प्रक्रिया अघि बढिरहेको छैन । त्यसकारण चाँडोभन्दा चाँडो सुकुम्बासी समस्या समाधान गर्नको निमित्त प्रक्रिया अघि बढाइयोस् ।”

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्