site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भियतनाममा आँधीका कारण नौजनाको मृत्यु
तस्बिर : एएफपी ।

हा लोङ । दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीका कारण भएका विभिन्न दुर्घटनामा भियतनाममा आइतबारसम्म कम्तीमा नौजनाको मृत्यु भएको छ ।

आँधीका कारण भियतनामका विभिन्न तटीय क्षेत्रमा भवनका छाना उडाएको, डुंगा डुबाएको र पहिरो गएको बताइएको छ । उत्तरी भियतनामको पहाडी क्षेत्र होआ बिन्ह प्रान्तमा आइतबार बिहान खसेको पहिरोमा परी चारजनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै भीएन एक्सप्रेसले भनेको छ, “यागीले ल्याएको केही घण्टाको भारी वर्षापछि मध्यराततिर पहिरो गई एक घरलाई पुरेको छ । घटनामा ५१ वर्षीय एक पुरुषले भागेर ज्यान बचाउन सफल भएको तर उनकी श्रीमती, छोरी र दुई नातिनातिना पुरिएका थिए ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उत्तरी भियतनाममा शनिबार १४९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले भौतिक संरचनामा व्यापक क्षति गर्नुका साथै ठाउँठाउँमा रुखहरू ढालेको छ ।

शनिबार हुरीले घरका छानालाई उडाएर टाढाटाढासम्म पुर्‍याएको र त्यसकारण भएका दुर्घटनामा चारजनाको मृत्यु भएको विपद् व्यवस्थापन अधिकारीले बताएका छन् ।

हाई डुओङ प्रान्तमा शुक्रबार हावाहुरीका कारण एउटा रुख ढलेर एक व्यक्तिको मृत्यु भएको थियो ।

बन्दरगाह सहर हाई फोङका धेरै क्षेत्रमा आइतबार बाढीको पानी आधा मिटर (१.६ फिट) सम्म जमेको र बिजुलीको लाइन र खम्बामा क्षति पुगेको छ ।

युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत हा लोङ बेमा आइतबार बिहान भएको क्षतिको अध्ययन गर्दा मछुवाहरू स्तब्ध भएका थिए ।

स्थानीय बासिन्दाका अनुसार, तुआन चाउ टापुमा रहेको हाई औ नामक डुंगा पार्किङ गर्ने स्थानमा कम्तीमा २३ डुंगामा गम्भीर क्षति पुगेको छ ।

भियतनामभन्दा पहिले दक्षिणी चीन र फिलिपिन्समा निम्त्याएको विपत्तिमा कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्