site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आफ्नै पार्टीका सांसदले उठाए गृहमन्त्रीमाथि प्रश्न
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसकै सांसदले गृहमन्त्रीमाथि प्रश्न उठाएका छन् । पूर्वमन्त्रीमेत रहेका नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले विज्ञप्ति नै जारी गरेर गृहमन्त्रीको भूमिकामा प्रश्न उठाएका हुन् ।

“केही दिन अगाडिदेखि नै जल तथा मौसम विज्ञान विभागले देशमा ठूलो पानी पर्ने जोखिमको जानकारी पर्याप्त मात्रामा प्रवाह गरेको थियो । यसरी पूर्व सूचना प्राप्त हुँदाहुँदै पनि जनधनको रक्षा गर्न सरकारले जे जति तयारी गर्नु पर्दथ्यो, जति सतर्कता अपनाउनु पर्दथ्यो त्यो गर्न सकेको देखिएन,” भण्डारीले भनेका छन्, “देशमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत निकाय छन् । यस्ता निकायको काम विपद् न्यूनीकरण गर्नु र विपद्को समयमा गर्नुपर्ने कार्यको पूर्वतयारी गर्नु हो, तर यस्तो विपद् आउँदै छ भनेर समयमा नै जानकारी हुदाँहुदै पनि नेपाल सरकार र त्यसमा पनि गृह मन्त्रालयको तयारी नपुगेको हो वा त्यसलाई संवेदनशील हिसावले नलिएको हो प्रश्न सिर्जना भएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भण्डारीले स्रोत साधन उपलब्ध भएको र हजारौँ तालिम प्राप्त उच्च दक्ष जनशक्ति उद्धारमा परिचालन गर्न सक्ने राजधानीमै बाढीले धनजनको क्षति गर्दा सरकारले केही गर्न नसकेको बताए ।

“त्यस्तो स्थानमा पनि घण्टौँसम्म उद्धारको प्रतीक्षामा रहेर नागरिकको ज्यान जानु भनेको अक्षम्य घटना हो,” भण्डारीले भेका छन्, “यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्दछ भन्ने मेरो माग छ ।”

उनले देशका अन्य घटनामा पनि नागरिकको जीउधनको रक्षाका लागि सरकारले गरेका प्रयास अत्यन्त फितलो, अपर्याप्त र झारा टार्ने खालको देखिएको उल्लेख गरेका छन् । उनले सरकारका विद्यमान संरचनाहरू गतिशील हुनै नसक्ने अवस्थामा पुगेका हुन भनेर प्रश्न उठेको बताएका छन् ।

“कोही कसैप्रति जवाफदेही हुनै नपर्ने अवस्था कसरी सिर्जना भयो ? भन्ने जस्ता प्रश्नको जवाफ खोजेर विद्यमान अवस्थाको पुनर्संरचना गर्ने, सक्षम जनशक्ति तयार पार्ने, आवश्यक उपकरणको प्रबन्ध गर्ने र सम्बन्धित निकाय तथा अधिकारीलाई यस्ता लापरबाहीमा जवाफदेही बनाउने प्रणाली विकास गर्नु आवश्यक छ,” भण्डारीले भनेका छन् ।

No description available.

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्