site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कमला ह्यारिस भन्छिन्– डोनाल्ड ट्रम्प सानो तानाशाह हुन्

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावकी उमेदवार कमला ह्यारिसले आफ्नो चुनावी प्रचारको अन्तिम सभा गरेकी छिन् । वाशिङ्टन डिसिमा आयोजित सभामा कमला ह्यारिसले आफ्ना प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प सानो तानाशाह भएको टिप्पणी गरेकी छन् ।

सन् २०२१ को जनवरी ६ मा डोनाल्ड ट्रम्पले आफ्ना समर्थकलाई अमेरिकी कंग्रेस (संसद भवन)मा आक्रमण गर्नु उक्साएको ठाउँमा ह्यारिसले आफ्नो चुनावी प्रचारको अन्तिम सभा गरिन् । ट्रम्पले आफ्ना समर्थकलाई अमेरिकी कंग्रेसमा आक्रमण गर्न उक्साएको दिन सम्झिदै ह्यारिसले भनिन्, “अमेरिकी इतिहासमा सम्भवत पहिलोपटक यो चुनाव स्वतन्त्रता र अराजकताबीचको छनोट हो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सन् २०२१ मा ट्रम्पले जनताको इच्छा उल्ट्याउने मनसायले अमेरिकी कंग्रेसमा हमला गरेको स्मरण गर्दै उनले भनिन्, “ट्रम्पसँग शत्रुहरूको सूची छ । चुनाव जितेमा ट्रम्पले ती सबैसँग बदला लिनेछन् ।” 

ह्यारिसले आफू बदला नभई अमेरिकी नागरिकका लागि गर्नुपर्ने कामको सूची लिएर कार्यालय (ह्वाईट हाउस) जाने बताइन् । उनले भनिन्, ‘ट्रम्प आफूले बदला लिनुपर्ने शत्रुहरूको सूची लिएर अफिस जानेछन् । म अमेरिकी नागरिकका लागि गर्नुपर्ने कामहरूको सूची लिएर अफिस जानेछु ।”

ट्रम्पले अमेरिकी नागरिकबीच विभाजन ल्याएर अमेरिकामा अराजकता फैलाउन चाहेको ह्यारिसको आरोप छ । 

“डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई एक अर्कासँग डराउँदै विभाजित गराउँदै एक दशक बिताए । तर, अमेरिकालाई म भन्छु, हामी त्यसता होइनौँ,” उनले अगाडि भनिन्, “हामी (अमेरिकन)लाई नै हामीभित्रका दुश्मन भनेर डोनाल्ड ट्रम्प अमेरिकी सैनिक, अमेरिकन नगारिकविरुद्ध प्रयोग गर्न चाहन्छन् । विभाजन र बदला खोजिरहेका डोनाल्ड ट्रम्प राम्रा उमेदवार होइनन् ।”

डोनाल्ड ट्रम्प अहिले सानो तानाशाहका रूपमा रहको र चुनाव जितेपछि उनी ठूलो तानाशाह बन्ने उद्देश्यमा रहेको उनको आरोप छ । 

यसअगाडि डोनाल्ड ट्रम्पले न्यूयोर्कको चुनावीसभाबाट ह्यारिसमाथि व्यक्तिगत तहमा ओर्लिएर आरोप लगाएका थिए । ट्रम्प र उनका समर्थकले ह्यारिस ‘लो आईक्यू भएकी महिला’ र उनी ‘वेश्वयावृति’बाट राजनीतिमा आएको आरोप लगाएका थिए । एपी
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्