site stats
बाह्रखरी :: Baahrakhari
देश
मिथिला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा

इनरुवा । “लक्ष्मी घर आउँ, दलिद्रहा बहार जाउँ” अर्थात् लक्ष्मी घर आउनु र दलिद्रहा बाहिर जानु भन्दै सुनसरी सदरमुकाम इनरुवासहित मिथला क्षेत्रमा हुक्कापाती खेल्दै लक्ष्मी पूजा मनाइएको छ ।

सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा बसोबास गर्ने मैथली समुदायले हुक्कापाती खेल्दै लक्ष्मी पूजा मनाएको इनरुवा–३ का मिथलेश झाले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इनरुवा, कोसी, हरिनगर, धरान, इटहरी, देवानगञ्ज, दुहबी, भोक्राहानरसिंह, बराहक्षेत्रलगायत स्थानमा बसोवास गर्ने मैथली समुदायले हुक्कापाती खेली लक्ष्मीको आह्वान गर्दै लक्ष्मी पूजा गरेको हरिनगरका चन्दन मेहताले बताए । 

सनपाटबाट निकालिएको सनठी र खडको प्रयोग गरेर बनाइएको हुक्कापाती घरका मुख्य व्यक्तिले पूजाकोठादेखि आँगनसम्म बनाइएको अरिपनमा बालिएको चौमुख दियोमा आगो लगाई बाहिर खेल्ने गरिन्छ । 

मिथला क्षेत्रका व्यक्तिले हुक्कापातीमा दिवाली अर्थात् लक्ष्मी पूजाको रातिमा खेलेर लक्ष्मी घर आउनु र दरिद्रहा बाहिर जानु भन्दै खेल्ने गरेको इनरुवा–३ का चन्द्रमोहन झा बताउँछन् । हुक्कापाती खेलेपछि पितृको शान्ति र मोक्ष प्राप्ति हुने जनविश्वास छ । हुक्कापाती घरका पुरुषले मात्र खेल्ने परम्परा छ ।

हुक्कापाती खेलिसकेपछि पूजाकोठामा जलेको सनठी ल्याएर राख्ने चलन रहेको झाले बताए ।  हुक्कापाती खेल्ने परम्परा मिथिला क्षेत्रको पौराणिक भए पनि पछिल्लो समय सहरी क्षेत्रमा बस्ने मैथली समुदायले कम खेल्ने गरेको स्थानीयवासीको भनाइ छ ।

यसका चलन अझै पनि ग्रामीण क्षेत्रमा छ । विषेशगरी वृद्धवृद्धाले यसको संरक्षण गर्दै आएका छन् । युवापुस्ताको ध्यान यसप्रति घट्दै गएको छ । हुक्कापाती विषेश गरेर झा, मेहता, यादव, राजपुरलगायत समुदायका व्यक्तिले खेल्ने गरेका छन् । 

पूर्वका राजवंशी, ताजपुरिया, गन्गाई, माझी समुदायले समेत हुक्कापाती मनाउँदै आएका छन् । हुक्कापातीको मिथला क्षेत्रमा बसोबास गर्ने मैथली समुदायमा विषेश महत्व रहेको र समयको परिवर्तनसँगै सांस्कृतिक महत्व बोकेको हुक्का पाती सुनठीको अभाव र युवापुस्तामा पर्वको विषयमा जागरुकता ल्याउनका लागि यसलाई निरन्तरता दिँदै आएको इनरुवाका गौतम यादवले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्