site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौंतर्फ प्रस्थान
फाइल तस्बिर ।

दोहा (कतार) । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौंका निम्ति प्रस्थान गरेका छन् । उनलाई महाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईका साथै उक्त दूतावासका पदाधिकारी र कतार सरकारका शिष्टाचार अधिकारीले बिदाई गरे ।

राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२९) मा सहभागी भएर बिहीबार साँझ कतारको दोहा आइपुगेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेको थियो ।

राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत गएको मंगलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्दै हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकतालाई मनन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए ।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञ एवं सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी सम्मेलनमा सहभागी थिए ।

यही कात्तिक २६ देखि सुरु भएको कोप–२९ आउँदो मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसीक्युजी)’ रहेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्