site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डलाई एमालेले भन्यो– विभाजनकारी अभिव्यक्ति फिर्ता लिनोस्, जनतासँग माफी माग्नोस्
केपी ओली र प्रचण्ड । फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)ले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय अखबार ‘द हिन्दु’सँगको अन्तर्वार्तामा व्यक्त गरेका अभिव्यक्तिको ‘कडा शब्द’मा भर्त्सना गरेको छ । ‘चिनियाँ कार्ड’ खेलिएको भन्ने प्रचण्डको उक्त अभिव्यक्ति आधारहीन, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम हित तथा परराष्ट्र नीतिमा ‘गम्भीर’ क्षति पुर्‍याउने खालको रहेको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तो टिप्पणीले नेपालले सार्वभौम राष्ट्रका रूपमा आफैँ निर्णय लिन पाउने स्वतन्त्रताको अपमान गर्ने एमालेको ठहर छ । “नेपाललाई कुनै पनि परराष्ट्रको अनुमोदन आवश्यक छैन । प्रधानमन्त्रीको चीन भ्रमण नेपालले पालना गरेको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिविम्ब हो, न कि ‘कार्ड कूटनीति’को हिस्सा, जस्तो भ्रामक रूपमा दाबी गरिएको छ,” एमाले सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तो टिप्पणीले भारत र चीनसँगको सन्तुलित सम्बन्ध कायम गर्न नेपालले लिएको संवेदनशील र विचारशील दृष्टिकोणलाई कमजोर बनाउने एमालेको बुझाइ छ । “उनका (प्रचण्ड) शब्दहरूले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र जनताको प्रतिष्ठामाथि प्रहार गरेका छन्,” विज्ञप्तिमा उल्लेख छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केही शर्मा ओलीले ऐतिहासिक नेतृत्व र परिपक्वता देखाएको एमालेले जनाएको छ । ओलीले नेपालको सार्वभौम हित र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राख्दै भारत र चीनसँगको परस्पर आदरयुक्त सहकार्यलाई अघि बढाएका पनि जनाइएको छ ।

प्रचण्डको अभिव्यक्ति नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई हानि पुर्‍याउने खालको रहेको एमालेले जिकिर गरेको छ । “नेकपा (एमाले) नेपालले भारत र चीनसँगको सन्तुलित सम्बन्ध कायम गर्न आफू कटिबद्ध रहेको पुनः पुष्टि गर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “साथै, पुष्पकमल दाहाललाई आफ्नो गैरजिम्मेवार र विभाजनकारी अभिव्यक्तिहरू फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गर्दछ ।”

हालैको उक्त अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री ओली यसपल्ट पहिलो विदेश भ्रमणका रूपमा चीन जान लागेका, त्यससँगै भारतसँगको नेपालको सम्बन्धलगायत विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्