site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वैकल्पिक शक्ति जोगाउन मुकुलको अपिल 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकालले वैकल्पिक शक्ति जोगाउन अपिल सार्वजनिक गरेका छन् । विवेकशील, नयाँ शक्ति, साझासहितका पार्टी हुँदै रास्वपामा आएर शक्ति आर्जन गरेको वैकल्पिक शक्ति व्यक्तिवादका कारण धरापमा परेको भन्दै उनले नयाँ सिराबाट समझदारीको आह्वान गरेका हुन् । 

रास्वपा केन्द्रीय समितिका पदाधिकारी र सदस्यसहित, बालेन शाह, हर्क साम्पाङ, गोपी हमाल हुँदै डडेल्धुरामा स्वतन्त्र चुनाव लडेको सागर ढकालसहितलाई उनले आह्वान गरेका छन् । आफूले नयाँ सिराबाट अघि बढ्न वैकल्पिक शक्तिको खाका बनाएको भन्दै त्यसको विकमर्शमार्फत अघि बढ्न प्रस्ताव गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“विवेकशील, नयाँ शक्ति, साझालगायत दलको नाम दिएर होस् या विभिन्न स्वरूपमा तीनै तहका निर्वाचनमा भाग लिएर वा विभिन्न अभियान चलाएर किन नहोस्, वैकल्पिक राजनीतिका लागि देशविदेशमा रहेका सचेत नेपालीको साथमा थुप्रै प्रयास भए,” मुकुलले लेखेका छन्, “विधिको शासन, सुसंस्कृत राजनीति, सहभागितामूलक लोकतन्त्र, पारदर्शी, जवाफदेही र लोककल्याणकारी राज्यजस्ता २१औँ शताब्दीका राजनीतिक सिद्धान्तमा आधारित रहेर वैकल्पिक राजनीतिक दलहरूको उदय भयो । तर, मुख्यतः आफ्नै गल्ती र परिस्थिति अनुकूल नहुँदा ती दल तथा अभियान स्थापित हुन सकेनन् ।” 

उनले ती असफलताका अभ्यासमा रास्वपाले छोटो सफलता हासिल गरे पनि गल्ती दोहोरिँदा त्यही गतिमा यसको पनि क्षयीकरण भएको उनले बताएका छन् । “यही सन्दर्भमा २०७९ साल असारमा नयाँ दल जन्मियो – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । वैकल्पिक राजनीतिको अभियानलाई निरन्तरता दिने र मुलुकमा व्याप्त निराशालाई चिर्ने मुख्य ध्येय राखेर जन्मिएको रास्वपा त्यही वर्ष मंसिरको संसदीय निर्वाचनमा सफल भयो, राष्ट्रिय राजनीतिको बलियो शक्तिका रूपमा उदय भयो,” मुकुलले भनेका छन्, “हामीले जे उद्देश्य राखेर छोटो समयमा आफूलाई स्थापित गरायौँ, हाल त्यही गतिमा हाम्रो यो पार्टीको पतन हुँदै जाने त होइन भन्ने आशंका गर्न थालिएको छ ।” 

उनले यसबाट शिक्षा लिँदै सुधारका निम्ति प्रतिबद्ध हुनुपर्ने बताएका छन् । “हामीबाट गम्भीर राजनीतिक भुल भयो । त्यसको पहिलो कारण हो– हामीले संस्थागत राजनीतिभन्दा व्यक्तिवादी राजनीतिलाई प्राथमिकता दिनू,” मुकुलले गल्ती स्वीकार्दै भनेका छन्, “स्थापनाको केही समयमा नै हामीले जनतासँग सम्बन्धित मुद्दाहरूभन्दा सत्तालाई केन्द्रमा राखेर पुराना राजनीतिक दलहरूजस्तै आपसमा लड्न पुग्यौँ ।” 

पुराना दलहरूले पटकपटक गल्ती गरे तर, सुधारको प्रयास नै गरेनन् भनेर नारा लगाएर आएको शक्ति त्यही बाटोमा हिँडेर गल्ती भएको उनको स्वीकारोक्ति छ “..हामीसँग अवसर छ– सुधार गरे सुध्रिन सकिन्छ । त्यसका लागि हामीले सबैभन्दा पहिले आफ्ना गल्ती सुधार गर्दै त्यसबाट सिक्दै व्यक्तिगत लोभ र मोह, इगो र आकांक्षा त्याग्न सक्नुपर्छ, देश र जनतालाई केन्द्रमा राखेर अगाडि बढ्नु पर्छ,” ढकालले भनेका छन्, “यो सबै गर्न सक्ने हो भने नेपालमा वैकल्पिक राजनीतिको आधार बलियो हुँदै जान्छ, त्यसले सुन्दर राजनीतिक अवस्था सिर्जना गर्दै जान्छ ।” 

उनले थप भने, “अहिलेको यक्ष प्रश्न अब रास्वपा जोगिन्छ कि जोगिँदैन भन्ने होइन, वैकल्पिक राजनीतिको बाटो के हुन्छ भन्ने हो ।”

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्