site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे चीन प्रस्थान गर्ने 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार (भोलि) बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने भएका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीन जान लागेका हुन् । उनको चीन भ्रमण मंसिर १७ देखि २० गतेसम्म हुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग मंसिर १८ गते बेइजिङमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । मंसिर १८ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी कमिटी अध्यक्ष झाओ लेजीले समेत भेट गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्नेछन् ।

यस्तै, उनले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चमा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि चीन जानेछिन् । चीन जाने प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोलीमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत ८७ जना हुनेछन् ।

प्रधानमन्त्री ओली मंसिर २० गते दिउँसो २ः१५ बजे स्वेदश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्