site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सूर्य नेपालका डिलरबाट ल्यापटप र कागजपत्र राजस्व कार्यालयले नियन्त्रणमा लियो, उपाध्यक्ष केसी विभाग धाउँदै

काठमाडौं । नयाँ ब्रान्ड ‘सूर्य फ्युजन’लाई बजारीकरण गर्न सूर्य नेपालले गैरकानुनी हतकन्डा अपनाएपछि आन्तरिक राजस्व विभागले अनुसन्धानलाई तिब्रता दिएको छ । बाह्रखरीमा प्रकाशित समाचारपछि विभागले काठमाडौं उपत्यकाका कार्यालयमार्फत डिलरहरूमा छापा मारेर ल्यापटप तथा कागजपत्र नियन्त्रणमा लिएको हो ।

कम्पनीले आफ्नो नयाँ ब्रान्ड ‘सूर्य फ्युजन’को प्रचार गर्न अन्तःशुल्क स्टिकर नटाँसी बजारमा पठाएको विषयमा समाचार प्रकाशित भएको थियो ।

‘फ्री फ्लो’ नाम भएको रंगिन बट्टामा कम्पनीले उपहार स्वरूप पाँच खिल्ली चुरोट पसल–पसलमा वितरण गर्दै आएको छ । कानुनविपरीतको काम भन्दै विभागले यस विषयमा अनुसन्धान जारी राखेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“विभागले राजस्व कार्यालयहरूमार्फत् उपत्यकाभरीका डिलरमा छापा मारेको छ,” विभाग उच्च स्रोतले भन्यो, “प्रारम्भिक रूपमा कम्पनीले ऐन विपरीतका कार्य गरेको हामीले केही आधारहरू प्राप्त गरेका छौं । त्यसकै आधारमा हामी अनुसन्धान गरिरहेका छौं ।”

कम्पनीले बजारमा वितरण गरेको पाँच खिल्लीको ‘फ्री फ्लो’ नाम भएको रंगिन बट्टामा न त सुर्तीजन्य पदार्थ ऐन, २०६८ अनुसार कुनै सन्देश छ, न यसमा अन्तःशुल्क स्टिकर नै छ ।

विभागले नै एक्सन लिएर अहिले यो विषयमा अनुसन्धान गरिरहेको छ । आन्तरिक राजस्व कार्यालय पुतलीसडकले अनामनगरको डिलरबाट ल्यापटप तथा कागजपत्र नियन्त्रणमा लिएको जनाएको छ । तर, अनुसन्धानलाई नै प्रभावित पार्नेगरी सूर्य नेपालका उपाध्यक्ष रवि केसी विभागमा धाउन थालेका छन् । उनले विभागका कर्मचारीलाई पनि भेटघाट गरेको स्रोतले जानकारी दियो ।

उनले सुरुमा विभागलाई आफ्नो कम्पनीले यस्तो काम नगरेको बताएका थिए ।  तर, पछिल्ला दिनमा केसीले गैरजिम्मेवार तरिकाले अन्य होटल तथा रेस्टुरेन्टमा पनि यस्ता क्रियाकलाप भइरहेको विभागका अधिकारीसँगको कुराकानीमा बताएको ती उच्च अधिकारीले बताए । 

तर, उनले ‘सूर्य फ्युजन’ चुरोटको मार्केटिङका लागि गैरकानुनी हतकन्डा प्रयोग गरेको हुन सक्ने विभागका कर्मचारीहरूकै अनुमान छ । किराना पसलेहरूका अनुसार ‘सूर्य फ्युजन’ चुरोटको मार्केटिङ गर्न कम्पनीबाट नै सेल्स एजेन्टहरू पुग्ने गरेका छन् ।

उनीहरूले पोस्टर टाँस्ने र तीनदेखि पाँच बट्टा ‘सूर्य फ्युजन’ चुरोट राख्नेलाई पाँच खिल्लीको आकर्षक बट्टा दिँदै आएका छन् । जुन गैरकानुनी काम भएको विभाग बताउँछ ।

सरकारले चुरोटबाट अन्तःशुल्क, स्वास्थ्य कर, मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर गरी विभिन्न शीर्षकमा राजस्व संकलन गर्छ । 

सूर्य नेपालले उपहार स्वरूप चुरोटका खिल्ली वितरण गरेर चारवटै शीर्षकमा सरकारले पाउने कर छल्न खोजेको प्रष्ट छ । किनभने यो कम्पनीले गैरकानुनी रूपमा बजारमा चुरोट बिक्री वितरण गरेको छ । चुरोट तथा सुर्तीजन्य उत्पादन गर्ने उद्योगले अन्तःशुल्क स्टिकरबापत प्रतिस्टिकर २५ पैसा, स्वास्थ्य जोखिम करबापत प्रतिखिल्ली ६० पैसा, आयकरबापत ३० प्रतिशत र भ्याटबापत १३ प्रतिशत राज्यलाई तिर्नुपर्छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्