site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ट्रेड युनियनबारे 'पपुलिजम' कुरा नगरौँ : योगेश भट्टराई 

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले निजामती कर्मचारीको ट्रेड युनियनका विषयमा राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति खोज्नुपर्ने बताएका छन् । मंगलबारको राज्य व्यवस्था समितिको बैठकमा निजामती विधेयकबारे संशोधन प्रस्ताव राख्दै उनले ट्रेड युनियन चाहिँदैन र सर्वेसर्वा हो भन्ने बहस आवश्यक नभएको बताए ।

“ट्रेड युनियन चाहिँदै चाहिँदैन भन्ने एक्स्ट्रिम बहस नगरौँ । ट्रेड युनियन सर्वेसर्वा हो, सम्पूर्ण कर्मचारी प्रशासन ट्रेड युनियनले चलाउँछ भन्ने कुराको बहस नगरौँ,” भट्टराईले भने, “राजनीतिक सहमतिका आधारमा हिजोका मान्यताबाट बदल्नुपर्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले राजनीतिक संरक्षण र अर्थवादी चिन्तनको बीचबाट जवाफदेही संस्था खोज्नुपर्ने धारणा राखे । “राजनीतिक संरक्षण र अर्थवादी चिन्तन नकारात्मक कुरा हो । यसको बीचबाट जानुपर्छ । आधिकारिक ट्रेड युनियनलाई मुख्य आधार बनाएर जवाफदेही बनाउनुपर्छ । यसमा राष्ट्रिय सहमति गरौँ । पपुलिजमको कुरा नगरौँ,” उनले भने ।

भट्टराईले ट्रेड युनियनमा राजनीतिक संलग्नतालाई कसरी व्यवस्थित गर्ने, व्यावसायिक मर्यादामा कसरी राख्ने भन्नेमा बहस हुनुपर्ने औँल्याए ।

राजनीतिक संस्था खारेज गरेर कर्मचारीको आधिकारिक ट्रेड युनियनमात्रै राख्नुपर्ने पक्षमा अधिकांश सांसदहरूले मत राखेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्