site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक : मुख्यमन्त्री शाह

भजनी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिक्षामा समयानुकूल परिमार्जन आवश्यक रहेको बताएका छन् ।

कैलालीको टीकापुरस्थिति वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीको स्वर्णस्तम्भ शिलान्यास कार्यक्रममा उनले बदलिँदो समयानुसार शैक्षिक रूपान्तरण जरूरी रहेको बताएका हुन् । “समयसँगै हरेक गतिविधि परिमार्जन हुनुपर्छ । शिक्षामा पनि त्यही हो । हिजो टीकापुरलाई शैक्षिक नगरीका रूपमा चिनाउने वीरेन्द्र विद्यामन्दिरलाई पनि त्यसैगरी परिवर्तन गर्न आवश्यक छ,” मुख्यमन्त्री शाहले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले शैक्षिक क्षेत्रको विकासमा भूमिका खेलेकोमा स्वर्गीय खड्गबहादुर सिंहलाई बिर्सन नमिल्ने भन्दै राम्रा कामहरूबाट आफ्नो क्षेत्रलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय रूपमा चिनाउन प्रयत्न गरिरहनुपर्ने धारणा राखे । मुख्यमन्त्री शाहले टीकापुर प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले काम अगाडि बढाएको जानकारी समेत दिए । “ प्राविधिक विश्वविद्यालय स्थापनाको लागि सबैको सहयोग चाहिएको छ । सबैसँगै अगाडि नबढ्ने हो भने गन्तव्यमा पुग्न सकिदैन,” उनले भने ।

मुख्यमन्त्री शाहले वीरेन्द्र विद्यामन्दिरले उत्पादन गरेको जनशक्तिलाई विद्यालयको विकासका लागि सहयोग गर्नुपर्नेमा जोड दिए। “विद्यालयको स्वर्णजयन्तीका लागि मेरो एक महिनाको पारिश्रमिक विद्यालयलाई दिने घोषणा गर्दछु । अन्य क्षेत्रमा आबद्धहरूले पनि यसैगरी सकेको सहयोग गरे आर्थिक अभाव हुँदैन,” उनले भने, “हरेक कामका लागि राज्यको मुख ताक्नुपर्ने स्थिति बनाइनु हुँदैन तर पनि सरकार हरेक काममा सहयोग र समन्वय गर्न तयार छ ।” रासस

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्