site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुसले तालिबानलाई ‘आतंकवादी’ सूचीबाट हटाउने
तालिबान प्रतिनिधिहरू।

मस्को । रुसको संसद्ले मंगलबार एउटा विधेयकलाई अनुमोदन गरेको छ । उक्त विधेयकले मस्कोलाई तालिबानलाई प्रतिबन्धित ‘आतंकवादी’ संगठनको सूचीबाट हटाउने बाटो खोल्न सक्छ ।  

सन् २०२१ को अमेरिकाको अराजक वापसीपछि तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि मस्कोले तालिबानसँग सम्बन्ध कायम गर्न थालेको छ ।

त्यसबेलादेखि अधिकारीहरूले इस्लामवादी समूहलाई मस्कोको प्रतिबन्धित ‘आतंकवादी’ समूहहरूको सूचीबाट हटाउन दबाब दिइरहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तल्लो सदन डुमाले सम्भावित भविष्यको निर्णयका लागि आवश्यक कानुनी ढाँचा राखेर समूहहरूलाई कानूनी रूपमा सूचीबाट हटाउनका लागि संयन्त्रको रूपरेखा प्रस्तुत गर्ने एउटा विधेयक पारित गरेको छ ।

रूसको माथिल्लो सदन फेडरेशन परिषद्ले शुक्रबार विधेयकमाथि विचार गर्नेछ । त्यसपछि राष्ट्रपति भ्लादिमिर पुटिनले कानुन बनाउन हस्ताक्षर गर्नेछन् ।

गत महिना काबुलको भ्रमणमा शीर्ष रूसी सुरक्षा अधिकारीहरूले आफ्ना अफगान समकक्षीहरूलाई मस्कोले चाँडै तालिबानलाई प्रतिबन्धित संगठनहरूको सूचीबाट हटाउने बताएका थिए ।

प्रस्तावित प्रणालीअन्तर्गत रुसका महान्यायाधिवक्ताले रूसी अदालतमा एउटा समूहले ‘आतंकवादको समर्थनमा’ आफ्ना गतिविधिहरू ‘बन्द’ गरेको उल्लेख गर्दै अनुरोध दायर गर्नेछन् । त्यसपछि न्यायाधीशले पदनाम हटाउनका लागि निर्णय गर्न सक्नेछन् ।

अपेक्षित कदमले तालिबान सरकार र त्यसले ‘अफगानिस्तानको इस्लामिक इमिरेट’ भनेर बोलाउने संस्थालाई औपचारिक मान्यता दिने होइन । यो कदम अहिलेसम्म कुनै मुलुकले चालेको छैन ।

पुटिनले यस वर्षको सुरुमा तालिबानलाई ‘आतंकवादविरुद्धको लडाइँमा सहयोगी’ भनेका थिए भने विदेशमन्त्री सर्गेइ लाभरोभले पश्चिमलाई अफगानिस्तानमा लगाइएको प्रतिबन्ध हटाउन र देशको पुनर्निर्माण प्रयासको ‘जिम्मेवारी’ लिन आह्वान गरेका छन् ।

मध्य एसियामा रुसका सहयोगीहरू एवं अफगानिस्तानका छिमेकीहरूले पनि तालिबानसँग राम्रो सम्बन्धको वाचा गरिरहेका छन् । काजाखस्तानले गत वर्षको अन्त्यमा तालिबानलाई आफ्नो निषेधित ‘आतंकवादी’ समूहको सूचीबाट हटाएको थियो ।

यो कदमले मस्को र अफगानिस्तानबीचको कूटनीतिलाई बढावा दिन सक्छ । दुवै देश पश्चिममा अलग–अलग भएका छन् ।

सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले महिलाहरूलाई सार्वजनिक जीवनबाट प्रभावकारी रूपमा प्रतिबन्धित गर्ने इस्लामिक कानुनको चरम रूपमा लागु गरेको छ । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  २१:१७
प्रतिक्रिया दिनुहोस्