site stats
बाह्रखरी :: Baahrakhari
देश
दमक–९ का विपन्नलाई वडाको सुविधा : पैसा अभावले उच्च शिक्षा नरोकियोस् !

दमक, (झापा) । बिमला हेम्ब्रमले फाराममा नागरिकता र शैक्षिक योग्यता प्रमाणपत्रको नक्कल नत्थी गरिन् । नलत्पत्याई गम लगाइन् । हस्ताक्षर गर्न मिल्ने गरी दुईप्रति फोटा पनि टाँसिन । त्यसपछि ‘फ्रन्ट डेस्क’का कर्मचारीबाट एकपटक परीक्षण गराएर वडाध्यक्षको कार्यकक्षतिर लागिन् । 

वडाध्यक्षले उनकी साथीको जस्तै कौशिलादेवी कार्कीलाई पनि कागजात ‘रुजु’ गराउन अह्राए । बाह्रखरी संवाददाता झापाको दमक नगरपालिका वडा नं. ९ को कार्यालय पुग्दा दुबै किशोरीहरु आफैँ फायल तयार गर्दै थिए । सबै कागजात मिलाएर वडाध्यक्ष कुवेरप्रसाद भट्टराईलाई देखाए । ‘सबै मिलेको छ’ भट्टराईले रातो कलमले सही गरिदिए । दुबै निवेदनलाई छाप लगाएर दर्ता गर्न अर्को फाँटमा पठाइयो । 

हेम्ब्रमका बुवा श्रमिक हुन् । उनी दैनिक ज्यालादारीमा काम गर्छन् । आमा गृहिणी हुन् । भाइ नजिकैको पशुपति संस्कृत विद्यालयमा १० कक्षामा पढ्छन् । घर खर्च टार्न र छोराछोरी पढाउन अन्य आयस्रोतको खासै बाटो छैन । “म कलेज जान थालेको छु, बुवाको कमाइले हामीलाई खान लाउनमात्र ठिक्क पुग्छ,” हेम्ब्रमले भनिन्, “वडाले हामीजस्ता विपन्न विद्यार्थीलाई पढाउँदैछ भन्ने सुनेपछि निवेदन दिन आएकी हुँ । नत्र आफैँ पैसा बुझाएर पढ्न कहाँ सक्नु ?”
सामान्य परिवारकी कौशिलादेवीले पनि वडाको कार्यक्रमबारे सुनेकी थिइन् । दमक बहुमुखी क्याम्पसका यी विद्यार्थीलाई अरु साथीले वडा कार्यालयबाट शिक्षा सुविधा पाइने सुनाएका थिए । यसअघि सुविधा पाएकाले ‘वडामा जानु’ भनेर सुझाएका थिए । सँगै पढ्ने साथीलेजस्तै सुविधा पाउने मापदण्डकी उनलाई वडाले चालु शैक्षिक सत्रको प्रक्रियामा सामेल गराएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“म क्याम्पस त गइरहेको छु तर भर्ना भएको छैन,” कौशिलादेवीले भनिन्, “भर्ना हुन र लाग्ने वार्षिक शुल्क वडाले तिरिदिने रहेछ । हामी सामान्य परिवारको विद्यार्थीलाई यसले ठूलो राहत हुनेभयो ।” कार्की दमक बहुमुखी क्याम्पसमा दशजोड दुईमा भर्ना हुनुपर्नेछ ।

दमक वडा नं. ९ ले विपन्न छात्रवृत्ति कार्यक्रमको रूपमा विद्यार्थी पढाउने अभियान संचालन गरेको छ । मापदण्ड पुग्ने जतिले सुविधा लिइरहेका छन् । वडाको वार्षिक बजेटमा कार्यक्रम सामेल गराइएको छ । वडाअध्यक्ष भट्टराई भन्छन्, “मेरो वडामा शुल्क तिर्न नसकेर कसैको पढाइ नछुटोस् भन्ने उद्देश्यले तीन लाख ३५ हजार ९५० रुपैयाँ बजेट छुट्टाएको छु ।” भट्टराई दमक नपा शिक्षा समितिको संयोजक पनि हुन् । 

२०७९ मा स्थानीय तहमा निर्वाचित भएर वडाको जिम्मेवारीमा आएसँगै भट्टराईले ‘पैसा अभावमा कसैले पनि उच्च शिक्षा लिन बञ्चित हुन नपरोस् भन्दै निःशुल्क शिक्षा’ कार्यक्रम अघि बढाएका थिए । त्यसपछिका दुई शैक्षिक सत्रमा २९ जना विपन्न छात्रछात्राले यो सुविधा पाइसकेका छन् । 

दमक बहुमुखी क्याम्पस, सरस्वती उच्च मावि, मदन भण्डारी स्मृति प्रतिष्ठान र धरान इन्जिनयरिङ कलेजमा पढ्ने विपन्न विद्यार्थीलाई यो सुविधा दिइन्छ । कक्षा १२ र त्यसमाथि स्नातक र स्नातकोत्तरसम्म पढ्ने विद्यार्थीको भर्ना र वार्षिक शुल्कको मापदण्ड बनाएर वडाले तिरिदिन्छ । 

के छ प्रक्रिया ? कति पाइन्छ छात्रवृत्ति रकम ?
वडाले सम्भावित विद्यार्थीको संख्या अड्कल गरी आफ्नो वार्षिक कार्यक्रमको बजेट विनियोजन गर्दै आएको छ । चालु आर्थिक वर्षमा तीन लाख ३५ हजार रुपैयाँ छुट्याइएको छ । 

विद्यार्थीबाट निवेदन आएपछि वडासदस्य तथा स्वयं वडाध्यक्षले सुविधा पाउने विद्यार्थी विपन्न हो होइन भनेर स्थलगत अध्ययन र परीक्षण गर्छन् । छिमेकीहरूसँग सोधीखोजी गरिन्छ । 

विपन्न भन्ने पुस्ट्याएपछि मात्र सुविधा लिनयोग्य विद्यार्थीबारे निर्णय हुन्छ । “विद्यार्थीले पहिले आफैँ पैसा जोहो गरेर क्याम्पस भर्ना हुनुपर्छ । त्यसको सक्कल बिलभौचर साथै राखेर वडामा निवेदन दिनुपर्छ । उचित छानबिनपछि मात्र हामीले छात्रवृत्ति रकम हस्तान्तरण गर्छौं,” भट्टराईले सुनाए ।

वडाले सामुदायिक क्याम्पसमा प्लस टु पढ्ने विद्यार्थीका लागि ९ हजार १५० र सरकारी कलेजमा बीबीए तथ अन्य विषय पढ्नेलाई २५ हजार रुपैयाँसम्मको छात्रवृत्ति दिन्छ । भट्टराई भन्छन्, “पूरै शुल्क बुझाउन नसक्नेलाई शतप्रतिशत सुविधा पनि दिने प्रबन्ध गरेका छौँ । बीबीए र अन्य प्राविधिक शिक्षा लिने विद्यार्थीको सबै शुल्क व्यवस्थापन गरिदिन्छौँ ।” हालसम्म यस किसिमको निवेदन वडामा प्राप्त हुन बाँकी रहेको र आए दिने उनले सुनाए ।   
 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्