site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल भित्रियो ‘सार्क ट्यांक’ फ्रेन्चाइज, पहिलो संस्करणमा २० एपिसोड आउने 

काठमाडौं । विश्व प्रसिद्ध टेलिभिजन कार्यक्रम ‘सार्क ट्यांक’ नेपाल भित्रिएको छ । हिमालय टेलिभिजनले ‘सार्क ट्यांक नेपाल’ ल्याएको हो । राजधानीमा सोमबार पत्रकार सम्मेलनमार्फत कार्यक्रम ‘सार्क ट्यांक’ नेपाल र सार्क (निर्णायक) सार्वजनिक गरिएको हो ।

सार्क नेपाली संस्करणमा आईएमई ग्रुपका सह–संस्थापक हेमराज ढकाल, निम्बस होल्डिङका निर्देशक आनन्द बगरिया, टोयोटा नेपालकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य, पद्मज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा यो कार्यक्रम सुरु गर्न सोनी पिक्चर्ससँग तीन वर्षअघि नै सम्झौता गरिए पनि विविध कारणले तीन वर्षपछि मात्रै सुरु गर्न लागेको हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए ।

“‘सार्क ट्यांक’ विश्वभरका ५३ देशमा प्रसारण भइसकेको र आजदेखि नेपाल यसको ५४औँ राष्ट्रका रूपमा थपिएको छ,” उनले भने, “नेपालजस्तो सानो भूगोल र जनसंख्याका कारण व्यवसायीले आफ्नो क्षमता प्रस्ट देखाउन सकेका छैनन् । यही कारण, यस्तो कार्यक्रम नेपाललाई थप आवश्यकता महसुस गरिएको हो ।”

‘सार्क ट्यांक’ले नेपालमा लगानीको वातावरण सिर्जना गर्ने मात्र होइन, देशभित्रै रोजगारीका नयाँ अवसर पनि दिने विश्वास गरिएको छ । यस कार्यक्रमले नेपाली व्यवसायहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग गर्ने कँडेलले उल्लेख गरे ।

एउटा एपिसोडमा पाँचजना उद्यमी गरेर कुल २० एपिसोडमा १०० जना उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गर्ने बताइएको छ ।

सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रूपमा सुरु भएको यो सो अहिले विश्वकै ठूलो व्यावसायिक रियालिटी टिभी सो बनेको छ । सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको यो सोको नेपाल संस्करण ५४औँ फ्रेन्चाइज हो ।

सोका जजमार्फत ३५ देखि ४० करोड रुपैयाँ लगानी उद्यमीलाई जुटाइदिने जनाइएको छ । हिमालय टिभीमा आगामी तीन महिनाभित्र प्रसारणको अपेक्षा राखिएको कार्यक्रमको छायांकन फागुनदेखि गर्ने तयारी छ । कार्यक्रमको छायांकन नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुनेछ ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्