site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विमानस्थलका समस्याबारे १५ दिनभित्र कार्ययोजना बनाउन मन्त्री पाण्डेको निर्देशन 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकलाई कुनै पनि समस्या नहुने गरी सहजीकरणको व्यवस्था मिलाउन विमानस्थलसम्बद्ध निकायका अधिकारीलाई निर्देशन दिएका छन् । 

आज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्बद्ध निकायको बैठकमा उनले विदेशी नागरिक पहिलोपटक प्रवेश गर्ने अन्तर्राष्ट्रिय विमानस्थल संवेदनशील क्षेत्र भएकाले सकारात्मक सन्देश दिने गरी सबै जिम्मेवार भएर लाग्न निर्देशन दिए । “यो विमानस्थल संवेदनशील क्षेत्र हो । त्यसैले सुरक्षा निकायको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ । एकपटक आउने विदेशी पर्यटकलाई पटक–पटक यहाँ आउने वातावरण बनाउनुपर्छ,” मन्त्री पाण्डेले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले ४६ लाख क्षमता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हाल ९० लाख यात्रुलाई सेवा दिनुपर्ने बाध्यता रहेकाले प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्तदुरुस्त बनाउनसमेत आग्रह गरे । मन्त्री पाण्डेले विमानस्थलमा देखिएका समस्याको पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिए । 

उनले भने, “भन्सार, अध्यागमन, एयरलाइन्स, क्यान कसले के–के काम गर्ने र कति सयमभित्र गर्ने भनी कार्यायोजनासहित अगाडि बढ्न आवश्यक छ । त्यसका लागि १५ दिनभित्र योजना बनाउनुहोस् । अन्तरमन्त्रालयमार्फत हुने समन्वयात्मक कार्यका लागि हामी सधैँ अग्रसर रहनेछौँ ।”

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्