site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बैठक चलाउन नजानेकाे भन्दै समिति सभापति खतिवडामाथि जब थानी खनिए‍‍...

काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाविरुद्ध समितिकै सदस्य हृदयराम थानी उभिएका छन् । समितिको बैठकमा थानी बोल्दै गर्दा सभापति खतिवडाले रोक्न खोजेपछि थानी झोक्किएर सभापति खतिवडाविरुद्ध आरोप लगाएका हुन् ।

सोमबारको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको एजेन्डा थियो– समितिमा उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्ध परेको उजुरी । लामो सयमअघि परेको उजुरीमा हुन लागेको छलफलमा थानीले समितिको कार्यपद्धतिको विषयमा प्रश्न उठाउँदै थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियार विधेयक उपसमितिबाट काम सम्पन्न भएर पनि अघि नबढाएको विषयमा थानीले प्रश्न उठाउँदै गर्दा सभापति खतिवडाले बीचैमा हस्तक्षेप गरी विधेयक अघि बढ्ने जवाफ दिएका थिए । त्यसपछि समिति सञ्चालनको प्रक्रिया नै ठिक नभएको भन्दै थानी उनीमाथि खनिएका थिए । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति भएर काम गरिसकेका थानीले सभापतिको शैलीमाथि प्रश्न उठाउँदै आफू नबोल्ने भनेर सभापतिलाई नै बोल्न अग्रह गरेका थिए ।

“सभापति कति बोल्नुहुन्छ ? म बोल्दिनँ तपाईं बोल्नुस्,” सभापतिले छोट्याउन आग्रह गरेपछि थानीले भने, “जहिल्यै कुरा काटेको छ । बोल्न त पाउनुपर्‍याे । सबै तपाईंले जान्नुभएको छ । तपाईं नै बोल्नुस् ।” 

थानीले सभापति खतिवडाले आफ्नो संयोजकत्वमा रहेको उपसमितिले बुझाएको प्रतिवेदनपछि अख्तियार विधेयक आईसीयूमा पुर्‍याउन खोजेको आरोप लगाए ।

खतिवडाले भने भर्खरै उपसमितिले प्रतिवेदन बुझाएको भन्दै विधेयक अघि बढ्ने बताएका थिए । थानीले आफू पहिले समिति सभापति भइसकेको व्यक्ति भएको भन्दै सभापतिले बीचमा कुरा काटेकोमा आपत्ति जनाएका थिए । खतिवडाले सबैको सहमतिमा विधेयक अघि बढ्ने बताए । “सबैको सहमतिमा विधेयक अघि लैजाने हो तपाईं बोल्नुस्,” खतिवडाले भनेका थिए ।

पटक-पटकको आग्रहपछि पनि थानीले बोल्न अस्वीकार गरेपछि  खतिवडाले सांसद ईश्वरी न्यौपानेलाई समय दिएका थिए । स्मरणीय याे छ कि थानी र खतिवडा दुवैजना एकै पार्टी नेपाली कांग्रेसका सांसद हुन् ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्