site stats
बाह्रखरी :: Baahrakhari
खेल
जोकोभिचलाई अस्ट्रेलियामा विषाक्त खानेकुरा दिइएको सत्य हो ?
फाइल तस्बिर । एजेन्सी ।

काठमाडौं । भारतको चर्चित अनलाइन नवभारत टाइम्स, दैनिक भास्कर र जागरण डटकमसँगै धेरै सञ्चारमाध्यमले दुई दिनअघि एक समाचार प्रकाशित गरे । जसको हेडलाइन थियो– अस्ट्रेलियामा मलाई विष दिइयो ।

यो समाचार विश्वचर्चित टेनिस खेलाडी नोभाक जोकोभिचको हो । यी सञ्चारमाध्यममा प्रकाशित समाचारमा सन् २०२२ मा अस्ट्रेलियाको मेलबर्नस्थित एक होटलमा विषाक्त खानेकुरा दिइएको जोकोभिचले दाबी गरेको उल्लेख छ । यी सञ्चारमाध्यमले जोकोभिचको समाचार प्रकाशित जीक्यू म्यागेजिनले यो कुरा खुलाएको जनाएका छन् ।

तर, जीक्यू म्यागेजिनमा जोकोभिचले सोझै अस्ट्रेलियामा आफूलाई विष दिइएको बताएका छैनन् । तर, उनले अप्रत्यक्षरूपमा आफूलाई विषाक्त खानेकुरा दिइएको हुन सक्ने आशय व्यक्त गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जीक्यूसँग उनले भनेका छन्, “ममा केही स्वास्थ्य समस्या थियो । मैले मेलबर्नको त्यो होटलमा केही खाएको थिएँ, जसले मलाई विषाक्त बनायो,” यही उद्धरणलाई आधार बनाएर अधिकांश भारतीय सञ्चारमाध्यमले जोकोभिचलाई विषाक्त खाना खुवाइएको दाबी गरेका छन् ।

जीक्यूमा प्रकाशित समाचारमा जोकोभिचको यो यस्तो अभिव्यक्तिपछि प्रश्नकर्ता अच्चममा पर्छन् र उनले प्रतिप्रश्न गरेका छन्, ‘एकछिन, तपाईंको अर्थ के हो ?’ 

यसमा जोकोभिचले भनेका छन्, “जब म सर्बिया फर्किएँ, त्यसपछि केही कुरा पत्ता लगाएँ । मैले यसबारे सार्वजनिकरूपमा कसैलाई भनेको छैन । मैले पत्ता लगाएको थिएँ– मेरो शरीरमा भारी धातुको स्तर निकै उच्च थियो । मेरो शरीरमा सिसा र पारा, यी दुवैको स्तर धेरै उच्च थियो ।”

यसपछि प्रश्नकर्ता फेरि सोध्छन्, ‘तपाईं भन्दै हुनुहुन्छ, सायद खानेकुरा वा अरू केहीबाट हुन सक्छ ?’

यसको जवाफमा जोकोभिच भन्छन्, “त्यो नै एकमात्र माध्यम हो ।”

सन् २०२२ को जनवरीमा जोकोभिचलाई अस्ट्रेलिया सरकारले डिर्पोट गरेको थियो । वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनका निम्ति त्यसबेला अस्ट्रेलिया पुगे पनि कोभिड–१९ विरुद्धको खोप नलगाएका कारण उनलाई अस्ट्रेलिया सरकारले डिर्पोट गरेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्