site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपति पौडेलद्वारा माघे संक्रान्तिको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे संक्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । 
   
माघे संक्रान्तिका अवसरमा आज शुभकामना सन्देश दिँदे उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । यस पर्वलाई मुलुकका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् ।

थारू समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षका रूपमा मनाउँछन् । तराईवासीले ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदीमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रही आएको पनि राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । 

यस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिएमा नेपाललाई विश्वसामु परिचित गराउन महत्वूर्ण भूमिका रहने राष्ट्रपति पौडेलले बताए ।   

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले नेपालीका बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरेका छन् । रासस

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ०६:२०
प्रतिक्रिया दिनुहोस्