site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बाबुरामको विश्लेषण– एमाले र माओवादीमा फरक छैन

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले नेकपा (एमाले) र नेकपा (माअ‍ोवादी केन्द्र)बीच कुनै भिन्नता नभएको निष्कर्ष निकालेका छन् । पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा भट्टराईले दुवै कम्युनिस्ट पार्टी उस्तै भएको टिप्पणी गरेका छन् ।

दुई पार्टीले बोकेको साम्यवादी विचारको जनाधार देशभर भए पनि यिनीहरूबाट देशले निकास पाउने आधार नभएको उनको निष्कर्ष छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“एमाले, माके (माओवादी केन्द्र)लगायत ‘नेपाल कम्युनिस्ट पार्टी’का विभिन्न समूहहरूले प्रतिनिधित्व गर्ने साम्यवादी धारको प्रभाव देशभर उल्लेख्य रूपमा छ,” भट्टराईले भनेका छन्, “परन्तु पटकपटक सत्ताको नेतृत्व गरे पनि यो धारको नेतृत्वले देशका गम्भीर संरचनात्मक समस्या समाधान गर्न नसक्नु, भनाइ र गराइमा कुनै तादात्म्य नरहनु, यिनका नेता र उच्च तहका कार्यकर्ताहरू विभिन्न भ्रष्टाचार, अनियमिततामा मुछिनु आदि कारणले आम जनताले कांग्रेस र कम्युनिस्टमा कुनै फरक महसुस गर्न सकिरहेका छैनन् ।”

माओवादी एमालेभन्दा केही फरक भए पनि नेतृत्वको भ्रष्टीकरणले समान स्तरको पार्टी बनेको उनको निष्कर्ष छ ।

“बलिदानीपूर्ण जनयुद्धको जगमा बनेको माओवादी केन्द्रको मूल नेतृत्व तीव्र गतिमा भ्रष्टाचार, अनियमितता, शक्ति केन्द्रहरूको दलाली र वर्ग–उत्थानीकरणको दलदलमा फसेकाले एमाले र माकेबीच कुनै तात्विक अन्तर छैन,” भट्टराईले भनेका छन्, “हिजोको एकदलीय कम्युनिस्ट सत्ता सबैतिर ढल्दै गएको, संसदीय कम्युनिस्टहरू सबै देशमा कमजोर बन्दै गएको स्थितिमा त्यसका वैचारिक–राजनीतिक–सांगठनिक–व्यवहारिक कारणहरूको वस्तुसंगत निराकरण नगरी पुरानै ढाँचामा कम्युनिस्ट पार्टीहरू नेपालमा मात्रै लामो समय टिक्ने अपेक्षा गर्न सकिन्न ।”

नेपालको तीव्र आर्थिक रूपान्तरण र नयाँ पुस्ताको आकांक्षाको पूर्ति ‘जुनसुकै ब्रान्डका कम्युनिस्टबाट पनि पूरा हुन सक्ने’ भट्टराईको निष्कर्ष छ ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्