site stats
बाह्रखरी :: Baahrakhari
देश
कार्यक्रम व्यवस्थापक फरार, पक्राउ पर्नेले मुख खोलेनन्

काठमाडौं । अन्तर्राष्ट्रिय डीजे मार्समेलो ल्याउने भन्दै ग्राहकबाट करोडौं रकम उठाएर डिजे नआउँदा क्लब तोडफोड र त्यसपछिको ठगी मुद्दामा पक्राउ परेका क्लब सञ्चालक तथा कार्यक्रम आयोजकले मुख खोल्न नमानेका कारण अनुसन्धानमा कठिनाइ भएको प्रहरीले बताएको छ ।

गत साता डेजाभु नाइट क्लबमा भएको घटनालाई लिएर क्रिकेटर पृथु बाँस्कोटासहित ७ जना अहिले प्रहरी हिरासतमा छन् । उनीहरुविरुद्ध ठगीको मुद्दा दायर गरिएको भए पनि कार्यक्रम आयोजना गर्ने मुख्य व्यक्ति रविन गुरुङ फरार भएका कारण दोष जति उनैको टाउकोमा हालेर अन्य अभियुक्त पन्छिएको प्रहरीको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पक्राउ परेका कार्यक्रम आयोजक रितेश मारवाडी र राजिव महर्जनले गुरुङ मुख्य आयोजक भएको भन्दै बयान दिन आनाकानी गरेका छन् । अनुसन्धान अधिकारीका अनुसार मुख्य आयोजक भनिएका गुरुङ केही समयदेखि हङकङमा बस्दै आएका छन् । कार्यक्रम तय गर्नेदेखि डिजेसँग डिल गर्ने उनै हुन् । 

आयोजकले मार्समेलो कार्यक्रममा सहभागी हुने भन्दै ३ हजारदेखि ७ हजार रुपैयाँसम्मको टिकट बिक्री गरेका थिए । हङकङमा रहेका रविनले नै टिकट दर फिक्स गरेको र टिकट उतैबाट पठाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

मार्समेलो भने आफू अस्वस्थ भएको भन्दै कार्यक्रममा आएनन् । उनले ट्विट गर्दै कार्यक्रममा उपस्थित हुन नसकेको भन्दै माफी मागेका थिए । आयोजकले भने मार्समेलो काठमाडौंको द्वारिकाज होटलमा बसेको जानकारी दिएका थिए । प्रहरी अनुसन्धानमा मार्समेलो नेपाल आएको वा नआएको खुल्न सकेको छैन । 

“कार्यक्रम हुने दिन मार्समेलो बसेको भनिएको द्वारिकाज होटलमा कोठा बुक भएको देखिएको छ,” महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी बेलबहादुर पाण्डे  भन्छन्, “३–४ जना विदेशी आएको पनि देखियो तर उनीहरु को हुन् भन्ने कुरा होटललाई थाहा छैन ।”

प्रकाशित मिति: आइतबार, पुस ९, २०७४  १६:४७
प्रतिक्रिया दिनुहोस्