site stats
बाह्रखरी :: Baahrakhari
विदेश
प्रमुख क्षेत्रमा चिनियाँ लगानीमाथि कडा प्रतिबन्ध लगाउने ट्रम्पको आदेश

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक आदेशपत्रमा हस्ताक्षर गर्दै प्रविधि र महत्त्वपूर्ण पूर्वाधारजस्ता रणनीतिक क्षेत्रमा चिनियाँ लगानीमाथि अंकुश लगाउन आग्रह गरेका छन् । विश्वका दुई ठूला अर्थतन्त्रबीच बढ्दो व्यापार तनाव र रणनीतिक प्रतिस्पर्धाका बेला यो कदम चालिएको हो ।

ह्वाइट हाउसले भनेको छ, “यसको उद्देश्य विदेशी लगानीलाई बढावा दिनु हो र अमेरिकी राष्ट्रिय सुरक्षा हितलाई ‘विशेष गरी चीनजस्ता मुलुकबाट उत्पन्न खतराबाट’ रक्षा गर्नु हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ह्वाइट हाउसका अनुसार, विशेष गरी पत्रमा चीनलाई ‘आफ्नो सैन्य, गुप्तचर र अरू सुरक्षा उपकरणको विकास र आधुनिकीकरण गर्न अमेरिकाको पुँजीको बढ्दो दोहन’बारे लक्षित गरिएको हो । यसले अमेरिकामा विदेशी लगानीसम्बन्धी समिति (सीएफआईयूएस)लाई प्रविधि, महत्त्वपूर्ण पूर्वाधार, स्वास्थ्य सेवा र ऊर्जाजस्ता प्रमुख क्षेत्रमा चिनियाँ लगानी प्रतिबन्धित गर्न आह्वान गरेको छ ।

सीएफआईयूएस अमेरिकामा विदेशी लगानीको राष्ट्रिय सुरक्षा प्रभावको तौल गर्ने एक समिति हो ।

ह्वाइट हाउसले भनेको छ, “राष्ट्रपति ट्रम्पले विदेशी शत्रुहरूलाई संयुक्त राज्य अमेरिकाको फाइदा लिनबाट रोक्ने आफ्नो वाचा पूरा गरिरहनुभएको छ ।”

ट्रम्पले यो महिनाको सुरुमा चीनबाट आयात हुने सबै उत्पादनमा १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाएपछि शुक्रबारको आदेश आएको हो ।

गएको बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको बताएका थिए । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्