site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीन पार्टी र पात्रले देशलाई बर्बाद बनायो : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकार देश बनाउन नभइ लुटतन्त्रलाई लुकाउन बनेको टिप्पणी गरेका छन् ।

सोमबारबाट काठमाडौंमा सुरु पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले भने, "कांग्रेस, एमाले र माओवादीले देशमा लुटतन्त्र मच्चाइरहेको छ, अहिलेको ठूला दल मिलेर बनेको सरकार पनि देश बनाउन नभई लुटतन्त्रलाई लुकाउन बसेको सरकार हो ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले ठूला भनिएका तीन पार्टी र पात्रले देशलाई बर्बाद बनाएको जिकिर गरे । सदनमा अंकगणित देखाएर शक्ति देखाउने काम धेरै दिन नटिक्ने उनको भनाइ थियो । महतोले सबैको अधिकारका लागि सवै पहिचानवादीहरू गोलबन्द हुनुपर्नेमा जोड दिए ।

केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा महतोले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा विचौलियाहरूलाई फाइदा पुग्नेगरी सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको उल्लेख गरिएको छ । त्यस्तै, महतोले कांग्रेस दक्षिणपन्थी ध्रुवमा खुम्चिएको टिप्पणी गरे भने एमाले नवपुँजीवादी र मध्यम वर्गीय स्वार्थमा फसेको उल्लेख गरे ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्