site stats
बाह्रखरी :: Baahrakhari
कला
‘भूठान’ले ल्यायो ‘एकपल्ट म घर नफर्की मर्न मिल्दैन...’

काठमाडौं । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘भूठान’को गीत सार्वजनिक भएको छ । शुक्रबार रिलिज भएको ‘कागजको खोस्टो’ बोलको गीतले मातृभूमिप्रतिको अगाध स्नेह र प्रेम दर्शाउँछ ।

गीतमा पुष्पन प्रधानको स्वर, नवराज पराजुलीको शब्द र वाचन छ । सम्पन्नता र सुखसयलभन्दा पनि आफू जन्मिएको गाउँ र त्यहाँको भूगोल कति प्रिय हुन्छ भन्ने गीतले वर्णन गरेको छ ।

थातथलो त्यागेर अमेरिका पुगिसकेका एक वृद्धले अन्तिमपटक आफू जन्मिएको भूमि टेक्नका गरेको संघर्ष र छटपटी गीतमा सुन्दर ढंगले चित्रण गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीतका शब्दलाई न्याय गरेको स्वरलाई साउन्डले थप उचाई दिएको छ । टेक्निकल पक्ष बलियो देखिएको गीतले सिनेमा कथा सार बोलेको अनुमान लगाउन सकिन्छ ।

गीतले परदेशिएकाहरूको कथा सुनाएको छ । जीवनकालमा जसरी पनि एकपटक आफू जन्मिएको गाउँ पुग्नैपर्छ भन्ने गीतको एउटा लाइन यस्तो छ– एकपल्ट म घर नफर्की मर्न मिल्दैन...।

गीतमा हरिवंश आचार्यलगायत कलाकार फिचर्ड छन् । सुसन प्रजापतिको छायांकन छ ।  

अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।

हलिउड अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो । हलिउडका केही प्राविधिकले पनि काम गरेका छन् ।

भुटानदेखि भारत र नेपाल हुँदै अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्नु पर्दा घर हराएको कथा ‘भूठान’को मुख्य कथानक रहेको बताइएको छ । यसलाई गीतले पनि संकेत गरेको छ ।  

बुलबुल फेम्ड निर्देशक  विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् ।

चलचित्र आउँदो वैशाख १२ मा प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्