site stats
बाह्रखरी :: Baahrakhari
देश
स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा उमेदवारी दर्ता

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मंगलबार अधिकांश क्याम्पसमा उमेदवारी दर्ता गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज विभिन्न विद्यार्थी संगठनले निर्वाचनका लागि प्रत्यक्ष तथा सामानुपातिकतर्फका उमेदवारको मनोनयन दर्ता गराएको जानकारी दिए । उनका अनुसार आज विहान ११ देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं उपत्यकाका शंकरदेव, विश्वभाषा, नेपाल ल, पब्लिक युथ, ग्रामीण आदर्श बहुमुखी, पिपुल्स, पद्यकन्या बहुमुखी क्याम्पसमा भने विवादका कारणले मनोनयन दर्ता नभएको उनले बताए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का उपाध्यक्ष नारायण घर्तीले आफ्नो संगठनले अधिकांश क्याम्पसमा मनोनयन दर्ता गराएको जानकारी दिए । नेपाल विद्यार्थी संघ (नेविसंघ)का प्रवक्ता सुरज सेजुवालले पनि ठूला क्याम्पससहित देशभरि नै उत्साहपूर्वक उमेदवारी मनोनयन दर्ता गरेको बताए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का महासचिव रोशन मगरका अनुसार संगठनले अधिकांश क्याम्पसमा आज उमेदवारी दर्ता गराएको बताए ।

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि यही फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ । निर्वाचन आगामी चैत ५ गते हुँदैछ । रासस

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  २३:४८
प्रतिक्रिया दिनुहोस्