site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीको सम्पर्कमै थिए गौचन हत्याका योजनाकार समिर !

काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको मुख्य योजनाकार समिरमान सिंह बस्यातलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । गौचन हत्यामा प्रयोग भएका पेस्तोल र हतियारको बन्दोबस्त गर्ने व्यक्तिलाई सीआईबीले त्यसअघि नै राजधानीको कपनबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो । 

गौचनले हुलाकी राजमार्गबाट आएको कमिसन र मध्यपहाडी लोकमार्गबाट आउने ‘गुण्डा भाग’ नदिएका कारण हत्या गरेको कुरा प्रहरी अनुसन्धानबाट खुलेको छ । 
रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या गरी भारत भासिएका मनोज, लोप्साङ र राजधानीमा टिक्न गाह्रो भएपछि भारत छिरेका समिरको समूह एकै भएको प्रहरीले बताएको छ । 

प्रहरी स्रोतका अनुसार त्यतिबेला मनोजले नै समिरका सबै काम गरिदिने गरेका थिए । तर, मनोजले भारतीय अपराधीसँग सम्बन्ध बढाउँदै गए र नेपालबाट उठाएको रकममा बढी हिस्सा खोज्न थालेपछि उनीहरुको सम्बन्ध बिग्रन पुगेको थियो । अनि मनोज समिरबाट टाढिए । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार मनोज र समिर समूहको द्वन्द्व उत्कर्षमा पुगेको थियो । उनीहरु एकआपसमा भिड्ने स्थितिमा समेत पुगेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एक वर्षयता मनोज फोनबाट धम्की दिँदै फिरौती माग्ने कार्यमा सक्रिय भए भने समिरको समूह ठेकेदारसँग कमिसनको चक्करमा लाग्यो । 

स्रोतका अनुसार गौचनले ठेक्का पाएको हुलाकी राजमार्गबाट कमिसनबापत ५० करोड रुपैयाँ गुण्डा, नेता तथा आफूलाई ठेक्का छाडिदिने ठेकेदारलाई बाँडे । त्यो कमिसनमा समिर छुटे । आफूभन्दा जुनियरले कमिसन पाएको तर आफूले नपाएको भन्दै गौचनसँग उनको दूरी बढेको थियो । मध्यपहाडी लोकमार्गमा पनि त्यस्तै भयो अनि गौचन र समिरको द्वन्द्व झनै बढ्यो । त्यही द्वन्द्व हत्यासम्म पुगेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । 

प्रहरी उच्च स्रोत भन्छ, “एक वर्षपहिले भारतमा तीनैजना सँगै थिए । त्यसबेला उनीहरुलाई पक्राउ गर्न सीआईवीको एक टोली भारत पनि गएको थियो र उनीहरुको बारेमा पत्ता पनि लागेको थियो । तर, नेपालमा त्यतिबेला प्रहरीको आईजीपी को हुने भन्ने हानाथाप थियो । आफू आईजीपी भएका बेला पक्राउ गर्दा चर्चा पाउने आशमा पक्राउ गर्न गएको टोली फिर्ता आयो । विस्तारै तीन गुण्डाहरुमा फाटो आयो र तीनतिर लागे ।” 

त्यतिबेला पक्राउ गर्न भारत गएका सीआईबीका केही अधिकारी र हाल पक्राउ परेका समिरमानको नियमित सम्पर्क हुने गरेको दाबी स्रोत गर्छ । स्रोत भन्छ, “त्यतिबेला सस्तो लोकप्रियता कमाउने आश नपालेर पक्राउ गरेको भए गौचनको हत्या नहुन सक्थ्यो । चर्चामा रहेका गुण्डा भारतबाट ल्याएर नाम कमाउने चक्करमा लाग्दा लोप्साङ र मनोज फुत्के ।”

सीआईबी प्रमुख डीआईजी पुष्कर कार्की भन्छन्, “प्रहरीको नजरमा मनोज र लोप्साङ केही हैनन् । देश छाडेर भागेका गुण्डासँग के डराउनु ? केही व्यापारी तथा अन्य व्यक्तिलाई फोनमार्फत धम्की आउने गरेको छ, हामी हेर्दैछौं । तिनीहरुलाई पनि पक्राउ गर्छौं नै ।”

डीआईजी कार्की थप्छन्, “गौचन हत्याका योजनाकार समिरलाई पक्राउ गर्न सीआईबीलाई हेडक्वाटरले निर्देशन गरेको थियो । समिरलाई पक्राउ गरी मुद्दा चलाइएको छ । अरुलाई पनि छाड्दैनौं ।  गुण्डासँग डराएर नबसौं । कसैले धम्की दिन्छ र गुण्डागर्दी देखाउँछ भने प्रहरीमा खबर गरौं । त्यसपछिको काम हाम्रो हो ।”

फाइल तस्बिर 
 

प्रकाशित मिति: बिहीबार, पुस १३, २०७४  ०९:१५
प्रतिक्रिया दिनुहोस्