site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
एकता महाधिवेशनलाई सघाउने कांग्रेसनिकट जनसम्पर्क समितिहरूको निर्णय

काठमाडौं । नेपाली कांग्रेसनिकट जनसम्पर्क समितिहरूले गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले मे ३ देखि ५ सम्म काठमाडौंमा आयोजना हुने एकता महाधिवेशन सफल पार्न सघाउने निर्णय गरेका छन् ।

सोमबार भर्चुअल माध्यमबाट आयोजित बैठकमा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले एनआरएनएमा एक भएर हिँड्न आह्वान गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सर्वोच्च अदालतको परमादेश अनुरूप मे मा एकता महाधिवेशन गर्नुको विकल्प नरहेको भन्दै एकताबद्ध भएमा मात्र एनआरएनएले नागरिकतालगायत गैरआवासीय नेपालीका मुद्दालाई टुंगोमा पुर्‍याउनसक्ने बताए ।

नेपाली जनसम्पर्क समिति जापानका पूर्वअध्यक्ष तथा एनआरएन अभियन्ता महेश श्रेष्ठले एकताको लागि आह्वान गर्दा अधिकतम लचक बन्न उच्चस्तरीय समितिलाई आग्रह गरे । उनले सर्वोच्चको फैसला बमोजिम मे मा अधिवेशन आयोजना गर्दै सबै पक्ष सहभागी हुने वातावरण बनाउनु पर्ने बताए ।

कांग्रेस नेता हरिबोल भट्टराईले एकताको विकल्प नभएको बताउँदै एनआरएन नागरिकता सम्बन्धी मस्यौदा हुँदै गरेको विधेयक कस्तो बन्दै छ चनाखो हुनुपर्ने बताए । 

बैठकमा एनआरएन अभियन्ता गंगाधर गौतमले सर्वोच्च अदालतको परमादेशको सबैले सम्मान गर्नुपर्ने बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क विभाग प्रमुख किरण पौडेलले कांग्रेस कानुनको सर्वोच्चतालाई मान्ने पार्टी भएकाले अदालतको परमादेशअनुसार आयोजना गर्न लागिएको एकता महाधिवेशनलाई सबैले सघाउनुपर्ने बताए । उनले परराष्ट्र मन्त्रीको निर्देशन नै एकताको मुख्य आधार भएको बताए । 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्