site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उजुरी छानबिन गर्न सातवटा उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न विभिन्न उपसमिति गठन गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेका समिति बैठकले समितिमा परेका एक सय उजुरीमध्ये ४८ वटा उजुरी छानबिनका लागि उपसमिति बनाएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले टेलिकम, दूरसञ्चार र टेलिभिजनसम्बन्धी उजुरी हेर्न मनिष झा नेतृत्वमा उपसमिति गठन गरेको छ । उक्त उपसमितिको सदस्यमा अच्युत मैनाली र अर्जुननरसिंह केसी सदस्य छन् । 

अर्थ मन्त्रालय, गैरकानुनी बिमा, मोबाइल बैंकिङ र एमसीसी सम्बद्ध उजुरीका सम्बन्धमा छानबिन गर्न गोकुल बाँस्कोटा नेतृत्वमा  उपसमिति गठन गरिएको छ । उक्त उपसमितिको सदस्यमा रामकृष्ण यादव र अमेरश कुमार सिंह सदस्य छन् । 

संस्कृति पर्यटन र परराष्ट्र मन्त्रालय सम्बद्ध उजुरीका लागि लेखनाथ दाहाल, विद्युत् प्राधिकरण तथा सहरी विकास मन्त्रालयसम्बद्ध उजुरीको छानबिनका लागि प्रेम आलेका साथै सहकारी, वैदेशिक रोजगार तथा धितोपत्र सम्बन्धी उजुरी छानबिन गर्न सञ्जय गौतमको संयोजकत्वमा उपसमिति गठन गरिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । 

खेलकुद, नेपाल स्काउट र गैरकानुनी सरकारी जग्गासम्बन्धी उजुरी छानबिनका लागि देवप्रसाद तिमल्सिनाको संयोजकत्वमा हरि ढकाल र राजेन्द्र लिङदेन सदस्य रहेको उपसमिति बनाइएको छ । 

स्वास्थ्य मन्त्रालय, क्रसर र केन्द्रीय अनुसन्धान व्युरोसम्बन्धी उजुरी छानबिनका लागि तारा लामाको संयोजकत्वमा जनार्दन शर्मा र अशिम शाह सदस्य रहेको उपसमिति गठन गरिएको छ । 

बैठकले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा अध्ययन गर्न बनाइएको उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको सभापति पोखरेलले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्