site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका निम्ति आन्दोलन घोषणा

काठमाडौं । राष्ट्रप्रमुख, प्रधानमन्त्री र राज्यका उच्च ओहोदामा रहेका हरेक व्यक्तिको सम्पत्ति छानबिनको माग राख्दै नेकपा (बहुमत)ले आन्दोलनको घोषणा गरेको छ । मंगलबार काठमाडौंमा सो पार्टीको ३ नम्बर ब्युरोले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो मागको सुनुवाई नभए कडा आन्दोलनको चेतावनी समेत दिएको छ ।

पार्टीका ३ नम्बर ब्युरो इन्चार्ज उदयबहादुर चलाउने ‘दीपक’ले देशको मुख्य दुस्मन भ्रष्टाचार रहेको र उच्च ओहोदाका व्यक्ति नै त्यसको कारक भएको आरोप लगाएका हुन् । पार्टीका स्थायी समिति सदस्यसमेत रहेका चलाउनेले आगामी चैत २४ गतेदेखि वैशाख ९ गतेसम्म सम्पत्ति छानबिनका लागि राजधानीको माइतीघर मण्डलामा धर्ना दिने घोषणा गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

देशलाई समृद्ध तथा जनताको जीवनस्तर माथि उठाउन प्रत्येक उच्चपदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गरेर राज्यकोष अपचलन गरेको पुष्टि भए त्यसलाई राष्ट्रियकरण गरिनुपर्ने धारणा राखे । चलाउनेले कुलमान घिसिङलाई बर्खास्त गरिनुको मुख्य कारण पनि मन्त्रीले चलखेल गर्न नपाएको आरोप लगाउँदै भने, “ऊर्जामन्त्री दीपक खड्का जल तथा विद्युत व्यवसायी भएको र त्यसमा घिसिङले चलखेल गर्न नदिएपछि हटाए ।” 

“यसरी राज्यका उच्च पदस्त व्यक्तिहरुको कुदृष्टि नै राज्यकोषमा भएपछि देश बन्छ ? भ्रष्टाचारको मुहान नै यस्तै व्यक्ति भएपछि जनताको समृद्धि सम्भव छ ?” चलाउनेले प्रश्न गरे । पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज कुमाल सिलवालले भ्रष्टाचारको जालो तोड्न आफूहरूले आन्दोलनको घोषणा गरेको जानकारी दिए ।

उक्त पत्रकार सम्मेलनमा पार्टीका काठमाडौं जिल्ला इन्चार्ज सागर लिम्बू, भक्तपुर जिल्ला इन्चार्ज प्रतिमा बजगाईं, चितवन जिल्ला इन्चार्ज रक्तिम, काठमाडौं सेक्रेटरी दर्शन कुमार नेपालीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्