site stats
बाह्रखरी :: Baahrakhari
देश
सेतो मच्छिन्द्रनाथको जात्रा चैत २३ देखि

काठमाडौं । सेतो मच्छिन्द्रनाथको जात्रा यही चैत २३ गतेदेखि सुरु हुँदै छ । स्थानीय भाषामा जनबहाःद्यः पनि भनिने यी देवतालाई बौद्धहरूले आर्यावलोकितेश्वर वा करुणामयको रूपमा पुज्छन् । 

हरेक वर्ष पौष शुक्ल पक्ष अष्टमीका दिन महास्नान गराई मनाउन सुरु गरिने जात्राको व्यवस्थापन यस वर्ष पनि जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिले गरिरहेको छ । 

समितिले पछिल्लो १३ वर्षदेखि रथजात्राको व्यवस्थापन गरिरहेको छ । समितिका अनुसार यस वर्ष जात्रा व्यवस्थापनका लागि विभिन्न २० वटा उपसमिति गठन गरिएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिका सचिव सुजिव बज्राचार्यले यस वर्ष रथजात्राको पहिलो दिन चैत २३ गते तीनधारा पाठशाला जमलबाट रथ तानेर असन पुर्‍याइने बताए । 

साथै चैत २४ गते रथलाई असनबाट हनुमानढोका पुर्‍याइनेछ भने चैत २५ गते हनुमानढोकाबाट लगनटोल पुर्‍याइनेछ । 

चैत २६ गते रथलाई तानेर आर्यावलोकितेश्वर (करुणामय)को आमा भनिने लगन टोलको डबलीको बीचमा रहेको रूखलाई तीनचोटि परिक्रमा गराइन्छ । 

चैत २७ गते लगन टोलबाट बेलुकीपख खटमा राखी आर्यावलोकितेश्वरलाई पुनः जनबहाःस्थित आफ्नै मन्दिरमा फर्काउने कार्यक्रम रहेको उनले बताए । 

उनका अनुसार यस वर्ष असन पुर्‍याउने काम ‘याः न्याःयेकेगु’ सम्पन्न भएपछि बेलुकी दर्शनका लागि राष्ट्रपति रामचन्द्र पौडेल आउने तालिका छ । यस वर्ष पर्यटन बोर्डको संयोजनमा पहिलो दिन जमलमा विदेशी पर्यटकलाई रथजात्रा अवलोकन गराउने कार्यक्रम राखिएको छ । 

यस जात्रालाई काठमाडौंको सबैभन्दा ठूलो रथ जात्राका रूपमा लिइन्छ । यो जात्राको समाप्तिसँगै देशका अरू भागमा अन्य रथजात्रा सुरु हुने भएकाले यस जात्राको विशेष महत्त्व छ ।रासस

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्