site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गान्धीको जन्मस्थलमा ६४ वर्षपछि फर्किंदै छ कांग्रेस

“गुजरात कांग्रेसमा दुई प्रकारका मान्छे छन् । एक ती हुन्, जसले कांग्रेसको लागि आफ्नो सारा हृदय र इमानदारीका साथ लड्छन् र जनतासँग जोडिएका छन् । अर्को ती हुन्, जसले जनतासँगको सम्पर्क गुमाए र भाजपासँग सम्पर्कमा छन् । आवश्यक परेमा पाँच देखि २५ जना नेतालाई कांग्रेसबाट निष्कासन गरिनुपर्छ ।”

राहुल गान्धीले गत महिना गुजरातमा कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा यो बयान दिएका थिए।

यसअघि राहुल गान्धीले संसदमा भनेका थिए, ‘हामीले तिमी (भाजपा)लाई अयोध्यामा हरायौँ र सन् २०२७ मा गुजरातमा पनि हराउनेछौँ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लोकसभा चुनावपछि राहुल गान्धीले दुईपटक गुजरातको भ्रमण गरिसकेका छन् र अब कांग्रेसको राष्ट्रिय सम्मेलन पनि ८ र ९ अप्रिलमा गुजरातमा हुँदै छ ।

गुजरातमा कांग्रेसको अन्तिम अधिवेशन सन् १९६१ मा भावनगरमा भएको थियो, अब ६४ वर्षपछि कांग्रेस फेरि गुजराततिर फर्केको छ ।

यस्तो अवस्थामा कांग्रेसले गुजरातमा महाधिवेशन गर्ने निर्णय किन गर्‍यो भन्ने प्रश्न उठ्छ । यसले पार्टीलाई कुनै ठूलो फाइदा पुर्‍याउँछ ? गुजरातमा कांग्रेसको वास्तविक स्थिति के छ ?

कांग्रेसलाई गुजरातमा पार्टी पुनर्निर्माण गर्न कत्तिको गाह्रो छ र पार्टीका चुनौतीहरू के छन् ? राहुल गान्धी किन बारम्बार गुजरात आउन थाले र किन यस्तो बयान दिइरहेका छन् ?

कांग्रेसले गुजरातमा दुईदिने राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ । यसअन्तर्गत विभिन्न कार्यक्रम घोषणा गरिएको छ । यसमा कांग्रेसको राष्ट्रिय नेतृत्वले गुजरातमा पार्टीको अवस्थाबारे पनि छलफल गर्नेछ ।

congress-1744041333.jpg
 

सम्मेलनको स्वागत समितिका अध्यक्ष शक्तिसिंह गोहिल र संयोजक अमित चावडा रहेका छन् । शक्तिसिंह हाल गुजरात कांग्रेसका अध्यक्ष छन् ।

वरिष्ठ समाजशास्त्री तथा महाराजा कृष्णकुमार सिंह जी भावनगर विश्वविद्यालयका पूर्व उपकुलपति डा. विद्युत जोशी भन्छन्, “देशमा जब पनि नयाँ राजनीतिक संस्कृतिको उदय हुन्छ, त्यो गुजरातबाट सुरु हुन्छ भन्ने कांग्रेस नेतृत्वलाई थाहा छ । यसैले गुजरात मोडेल तोड्यौँ भने यसले सिंगो देशलाई असर गर्छ । त्यसैले यहाँबाट नयाँ मोडल सिर्जना गरी परिचय गराउनु अधिवेशन आयोजना गर्नुको मूल विचार हुन सक्छ ।”

तर, कांग्रेससँग राज्यमा यो सबै गर्न सक्ने नेता नभएको उनको भनाइ छ । 

यस विषयमा गुजरातका पूर्वमुख्यमन्त्री सुरेश मेहता भन्छन्, “कांग्रेसको नयाँ उदीयमान पुस्ताले भित्रैबाट हामीले केही गर्नुपर्छ भन्ने महसुस गरेको देखिन्छ ।”

महाराजा सयाजीराव विश्वविद्यालय, वडोदराका राजनीतिशास्त्रका प्राध्यापक अमित ढोलकिया यसलाई प्रतीकात्मक मात्र मान्छन्।

उनी भन्छन्, “यो सम्मेलन कार्यकर्ताहरूका लागि उत्साहजनक हुन सक्छ, तर भविष्यमा यसले खासै राजनीतिक प्रभाव पार्ने देखिँदैन । विगत छ दशकमा गुजरातमा कांग्रेस पूर्ण रूपमा परिवर्तन भइसकेको छ र अत्यन्त कमजोर भएको छ ।”

वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक हरेश झला महाधिवेशनको मुख्य उद्देश्य कार्यकर्तालाई सक्रिय गराउनु रहेको बताउँछन् । यसले गुजरातमा कांग्रेसलाई गम्भीरतापूर्वक नलिनेहरूको मानसिकता पनि परिवर्तन गर्न सक्छ।

गान्धीवादी प्रकाश शाह भन्छन्, “गान्धीजी सन् १९२४ मा कांग्रेस अध्यक्ष निर्वाचित भएका थिए, यो उनको शताब्दी वर्ष हो । कांग्रेस नेतृत्वलाई हामीले गान्धीजीको जन्मस्थल गुजरात जानुपर्छ भन्ने लागेको हुन सक्छ ।”बीबीसी

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्