site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मतदाता नामावली अद्यावधिक हुँदै, त्रुटि भए निवेदन दिन आह्वान

काठमाडौंं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदाता नामावली अद्यावधिक कार्यविधिअनुसार ०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा नागरिकको विवरण वैशाख १ गतेबाट अद्यावधिकको प्रक्रिया सुरु गरिएको आयोगले जनाएको छ ।

मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेबसाइटमा प्रकाशन भएको छ । उक्त नामावलीमा त्रुटि भए सच्याउनका लागि निवेदन दिन आयोगले आह्वान गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि प्रकाशित प्रारम्भिक नामावलीमा त्रुटि भएको भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनुपर्ने भए उजुरी दिन, कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन वि.सं. २०८२ वैशाख ७ गतेदेखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत् निवेदन दिन सकिने व्यवस्था मिलाइएको छ,” आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनलाइनमार्फत निवेदन पेस गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न आयोगले आग्रह गरेको छ । वैशाख मसान्तमा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । यस अवधिमा पनि नयाँ नाम दर्ता तथा अद्यावधिक कार्य निरन्तर भइरहने प्रवक्ता अर्यालले जानकारी दिइन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्