site stats
बाह्रखरी :: Baahrakhari
कला
‘जार’मा सौगातलाई लतार्ने बाघको मूल्य दुई करोड ? 

काठमाडौं । चलचित्र ‘जार’ले भीएफएक्समा ठूलो बजेट खर्च गरेको छ । सिनेमाको कथामा रहेको बाघको दृश्यका लागि निर्माण टिमले ठूलो रकम खर्च गरेको हो । 

निर्देशक फुर्वा छिरिङ लामाले बाघले मान्छेलाई आक्रमण गरेको दृश्यका लागि दुई करोड रुपैयाँ खर्च गरेको बताएका छन् । 

बाघ पनि सिनेमाको पात्रसँगै आउने भएकाले त्यसलाई जसरी पनि देखाउनै पर्ने अवस्थामा आफूले भीएफएक्समार्फत बाघको सिन बनाएको र त्यसका लागि दुई करोड रुपैयाँ खर्च गरेको प्रष्ट पारे ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पैसा मात्रै होइन, हामीले समय पनि त्यति धेरै खर्च गरेका छौँ । ठूलो टिमलाई भीएफएक्समा धेरै समय लाग्यो,” निर्देशक लामाले बाह्रखरीसँग भने, “हलिउडमा काम गरिरहेको भीएफएक्स आर्टिस्टले हाम्रो चलचित्रमा काम गरेका छन् ।”

हलिउड मुभी ‘गेम अफ थ्रोन्स’, ‘मिसन इम्पोसिबल’लगायत सिनेमाका काम गर्ने भीएफएक्स आर्टिस्टले ‘जार’को बाघमा काम गरेको निर्देशक लामाको भनाइ छ । 

३७ जना भीएफएक्स आर्टिस्टले काम गरेको उनले जानकारी दिए । “हामीले फ्रिलान्सर भीएफएक्स आर्टिस्टलाई काम लगाएका हौँ,” उनले भने, “यदि, यही काम हामीले कुनै स्टुडियोलाई दिएको भए न्यूनतम आठदेखि दश करोड रुपैयाँ लाग्नेथियो ।” 

सौगात मल्ललाई बाघले लतारेर लगेको सिन निर्माण टिमले भीएफएक्समार्फत निर्माण गरेको हो ।  

चलचित्र ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शन हुँदै छ । ‘जार’ सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित रहेर साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो ।

चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको छायांकन सिक्किममा गरिएको छ । चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  ०६:३८
प्रतिक्रिया दिनुहोस्