site stats
बाह्रखरी :: Baahrakhari
देश
सरकारसित सहमतिबारे सुवेदी भन्छन्– आन्दोलन महिनौँ लम्ब्याउने अवस्था जटिल थियो
लक्ष्मीकिशोर सुवेदी ।

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरूको आन्दोलका कारण केही उपलब्धि हासिल भएको बताएका छन् । वर्षौंदेखि नमिलेको समान ग्रेड र तलबको मुद्दा हल भएको, अस्थायी शिक्षकको बिरामी बिदा सञ्चित हुने, सिभिल अस्पतालमा उपचार सुविधा पाउने निश्चित भएको उनले उल्लेख गरेका छन् ।

सबै शिक्षकका निम्ति दुर्गम भत्ता उपलब्ध हुने निश्चित भएको, मर्यादाक्रमको माग सम्बोधनलगायत विषयलाई उनले आन्दोलनको सफलताका रूपमा उल्लेख गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार (वैशाख १८) सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विधेयक कानुन बन्दा लिने नियमित प्रक्रियागत समयका कारण तुरुन्तै ऐन जारी हुने परिस्थिति नरहेको स्पष्ट पारेका छन् । आन्दोलन गरिरहन पनि जटिल भएको उनको भनाइ छ ।

विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने मुख्य मागसहित शिक्षक आन्दोलित थिए । “यो आन्दोलन यस्तै रूपमा महिनौँ लम्ब्याउने अवस्था पनि जटिल थियो । त्यसैले संसदीय दलका मुख्य सचेतक र समितिको सभापतिलाई सार्वजनिक लिखित प्रतिबद्धता गराएर २०८२ असार १५ गते प्रतिनिधिसभाबाट पारित हुने गरी हामीले त्यो कामलाई सुनिश्चित गरेका छौं,” उनले लेखेका छन् ।

आवधिक बढुवा, अस्थायी अवधि गणना, पछिल्लो चरणमा स्थायी भएका शिक्षकको निवृत्तिरभणजस्ता विषय ऐनमार्फत सम्बोधन हुने उनले उल्लेख गरेका छन् ।

बुधबार (वैशाख १७) सरकारसित सहमतिसँगै २९औँ दिनमा काठमाडौंकेन्द्रित शिक्षक आन्दोलन स्थगन भएको छ ।

नेपाल शिक्षक महासंघ अध्यक्ष सुवेदीको भनाइ पढ्नोस्–
हार्दिक आभार :
यसपटकको शिक्षक–कर्मचारी आन्दोलन २०८१ माघ २० गतेबाट सुरु भयो । समग्रमा आन्दोलन ८९ दिन चल्यो, तथापि अन्तिम चरणको २९ दिनको काठमाडौंकेन्द्रित सडक आन्दोलन सर्वाधिक चर्चामा रह्यो । यसको मुख्य कारण साथीहरूको उत्साहजनक सहभागिता र नेतत्वप्रतिको समर्थन हो । यसका लागि सबै आन्दोलनकारी साथीहरूप्रति अभारी छौँ ।
१. लगातार २९ दिनसम्म चलेको काठमाडौंकेन्द्रित सडक आन्दोलनमा पानी, घाम केही नभनी उत्साहका साथ सहभागी हुने सबै शिक्षक–कर्मचारी साथीहरूप्रति आभारी छौँ । आन्दोलनको उपलब्धिका पहिलो श्रेय वहाँहरूमा जान्छ । त्यसैगरी, महासंघका पदाधिकारी, आन्दोलन परिचालन समितिका संयोजक र सदस्य, आबद्ध–सम्बद्ध संस्थाको नेतृत्व, राहत, बालकक्षा, सिकाइ अनुदान, साविक उमावि, पेन्सन सरोकार समूह, प्राविधिक धार, विशेष शिक्षा तथा विद्यालय कर्मचारी साथीहरू सबैमा यसको श्रेय जान्छ । यी सबै साथीहरूप्रति आभारी छौँ ।
२. विधेयकले कानुन बन्दा लिने नियमित प्रक्रियागत समयका कारण तुरुन्तै ऐन जारी हुने परिस्थिति रहेन । यो आन्दोलन यस्तै रूपमा महिनौँ लम्ब्याउने अवस्था पनि जटिल थियो । त्यसैले संसदीय दलका मुख्य सचेतक र समितिको सभापतिलाई सार्वजनिक लिखित प्रतिबद्धता गराएर २०८२ असार १५ गते प्रतिनिधिसभाबाट
पारित हुने गरी हामीले त्यो कामलाई सुनिश्चित गरेका छौँ । 
३. वर्षौंदेखि नमिलेको समान ग्रेड र तलबको मुद्दा यसपटक हल भएको छ । अस्थायी प्रकृतिका साथीहरूको बिरामी बिदा सञ्चित हुने भएको छ । सिभिल अस्पतालमा कर्मचारीलाई जस्तै उपचार सुविधा पाउने निश्चित भएको छ । सबै शिक्षकका लागि दुर्गम भत्ता उपलब्ध हुने निश्चित भएको छ । मर्यादाक्रमको सवाल सम्बोधन भएको छ ।
३. साथीहरूले आवधिक बढुवा, अस्थायी अवधि गणना, पछिल्लो चरणमा स्थायी भएका साथीहरूको निवृत्तिरभणजस्ता विषयमा पनि मन्त्रिपरिषद्‌बाट हुने निर्णयमा आउनुपर्छ भन्ने कुरा राख्नुभएको थियो । तर, यी विषय ऐनले सम्बोधन गर्ने विषय भएकाले ऐनमार्फत नै सम्बोधन गराइनेछ । 
४. २०७५ पछि स्थायी भएका साथीहरूको निवृत्तिभरणको सवालमा आन्दोलनकै क्रममा केही सफलता हात लागेका छ । यसलाई पूर्णता दिन निवृत्तिभरण कोष ऐन २०७५ को संशोधन गराउनुपर्छ । शिक्षा ऐन जारीसँगै यो ऐनको संशोधनका लागि समेत प्रयत्न जारी रहनेछ ।
५. अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी, करार, साविक उमावि, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धारलगायत)को स्थायित्वको विषय सहमतीबमोजिम ऐनबाट सम्बोधन हुनेछ । ईसीडीका शिक्षक र विद्यालय कर्मचारीको समस्याको उचित निकास ऐनमार्फत खोजिनेछ ।
६. यसपटकको आन्दोलनमा कसैलाई कुनै चोटपटक नलागोस् भन्ने हाम्रो चाहना थियो, तर छब्बिसौँ दिनमा प्रहरीको दमनका कारण ६२ जना साथीहरू घाइते हुनुभयो । ती सबै साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । आन्दोलनमा वहाँहरूको योगदानप्रति उच्च सम्मान छ । आन्दोलनमा सहभागी भई घर फर्कने क्रममा मनाङका शिक्षक साथी मन घलेको निधन भएको छ । वहाँप्रति भावपूर्ण श्रध्दाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवार जनमा समवेदना प्रकट गर्दछौँ ।
६. आन्दोलनका क्रममा पानी वितरण गर्ने टिम नेपाललगायत संस्थाहरूप्रति पनि आभारी छौँ । त्यसैगरी, आन्दोलनको समर्थन र ऐकबद्धता प्रकट गर्ने सबैप्रति आभारी छौँ ।
७. अब जारी हुने ऐनभित्र हाम्रा सहमतिका बुँदाहरू समावेश गर्ने सवालमा हामी पक्षीकरणमा लागिरहनेछौँ । 
फेरि एकपटक सबै साथीहरूप्रति आभार व्यक्त गर्दछौँ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्