site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पोखरा विमानस्थलमा घोटाला छ, अख्तियार पठाउनुपर्छ : अर्जुननरसिंह केसी

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी छानबिन उपसमितिको प्रतिवेदनमाथि संसद्‍मा जारी छलफलमा सांसद अर्जुननरसिंह केसीले लागत वृद्धिको गम्भीर प्रश्न उठाउँदै भ्रष्टाचारको विस्तृत छानबिनको माग गरेका छन् ।

“जाइकाको अध्ययनमा पहिलो फेजमा ४० मिलियन डलर र दोस्रो फेजमा ४५ मिलियन डलरमा अध्ययन भएको थियो,” उनले संसद्मा भने, “तर जब सरकारसँग १४५ मिलियन डलरको योजना थियो, त्यसलाई ३०५ मिलियन बिड किन र कसरी स्वीकृत गरियो ?”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले १४५ मिलियन डलरको योजना अन्ततः २१५ मिलियनमा सहमति भएकोमा स्पष्ट रूपमा भ्रष्टाचार देखिएको बताए । 

“हामीले यो विषयमा सरकारसँग १० पटकसम्म प्रश्न उठायौँ,” केसीले भने, “तर अहिलेसम्म कुनै चिठीको जवाफ आएको छैन । नीति निर्माणको तहमा को–को थिए, त्यो सबैको छानबिन हुनुपर्छ ।”

उनले प्राविधिक दृष्टिकोणबाट पनि गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिँदै प्रतिवेदनलाई पूरक मतसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउन आग्रह गरे ।

“यति महँगो ऋण नेपाली जनताको थाप्लामा राखेर बस्न मिल्दैन । लक्ष्यअनुसार काम नभएको हो भने यो घोटाला हो,” केसीले स्पष्ट पारे, “कुनै मित्र राष्ट्र, बैंक वा ठेकेदारको नाम आयो भन्दैमा चुप लाग्न मिल्दैन ।”

उनको भनाइमा, यस विषयमा नीतिगत तहदेखि निर्णय प्रक्रियासम्म सम्पूर्ण पक्षको छानबिन नगरी सत्य बाहिर आउँदैन । “यो अब टुंग्याउने बेला हो, कारबाहीको तहमा लैजानुपर्छ,” उनले जोड दिए ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्