site stats
बाह्रखरी :: Baahrakhari
देश
जीबी राईलाई खोज्नै छाड्यो प्रहरी ? दाइहरू पनि कानुनी दायराबाहिरै !

काठमाडौं । गितेन्द्रबाबु राई अध्यक्ष भएको गोर्खा मिडिया प्रालिका तत्कालीन दुई साझेदार रवि लामिछाने र छविलाल जोशी थुनामा छन् ।  पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामिछाने र प्रहरीका पूर्वडीआईजी जोशी दुवै यतिखेर रुपदेन्ही कारागारभित्र छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले जोशीलाई पाँच महिनाअघि गएको माघ अन्तिम साता थुनामा पठाउने आदेश गरेको थियो । त्यसयता उनी थुनामै छन् ।  त्यतिबेला जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा छाडेको थियो । 

जिल्ला अदालत रुपन्देहीले मागेको एक करोड रुपैया धरौटी बुझाएर लामिछाने थुनामुक्त भएका थिए ।  लामिछानेको हकमा जिल्ला अदालतहरूले दिँदै आएको धरौटीको सुविधा उच्च अदालत तुलसीपुरको इजलासले रोक्यो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा बस्नुपर्ने मागसहित उच्च पुगेका जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीको मागअनुसार बुटवल इजलासले चैत २२ मा थुनामा राख्ने आदेश गर्‍यो । त्यसो त, रुपन्देहीबाहेक मुद्दा चलेका पोखराको सूर्यदर्शन, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा जिल्ला अदालतले धरौटीमा छाडेको थियो । 

जोशीले समेत त्यही सहुलियत पाउँदै आएका थिए । तर, रुपन्देही जिल्ला अदालतले भने जोशीको उक्त क्रमलाई पूर्णबिराम लगाएको थियो । रविलाई त्यही रात काठमाडौंमा पक्राउ गरी रुपन्देही कारागार चलान गरिएको थियो । 
करिब दुई महिनादेखि लामिछाने र पाँच महिनादेखि जोशी थुनामा छन् ।  तर, लामिछाने र जोशी दुवैजनाका परिवारले उच्चको आदेशविरुद्ध बन्दीप्रत्यक्षीकरणको निवेदन सर्र्वोच्चमा दिएका छन् । सर्वोच्चमा सुनुवाइ ‘हेर्दाहेर्दै’मा रहेको छ ।

सुप्रिम सहकारीबाहेक पोखराको सूर्यदर्शन, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी र पर्साको सानोपाइला सहकारीको ठगीमा उनीहरू जोडिएका छन् ।  पाँच सहकारी ठगीका मुख्य योजनाकार भने ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी) हुन् । उनकै योजनामा बचतकर्ताले सहकारीमा राखेको अर्बौं रुपैयाँ अपचलन भएको हो ।

गोर्खा मिडिया नेटवर्क सञ्चालन गर्दा जीबी राईसँग रवि र छवि जोडिएका हुन् ।  प्रहरी र सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा संसदीय विशेष छानबिन समितिले सहकारीको रकम गोर्खा मिडियामा गएको खुलेपछि उनीहरूविरुद्ध समेत मुद्दा चलाइएको हो ।

प्रहरीले पूर्वडीआईजी जोशीलाई २०८१ असोज ६ गते पक्राउ गरेको थियो भने लामिछानेलाई कात्तिक २ गते पक्राउ गरेर कानुनी दायरामा ल्याइएको थियो ।

जीबी अझै कानुनी दायराबाहिर

बचतकर्ताको अरबौँ रकम हिनामिना भएको पाँचवटै सहकारीका सञ्चालक भने जीबी राई नै हुन् ।  राईले नै सहकारीको रकम अपचलन गर्न अनेक किसिमका डमी कम्पनी सञ्चालन गरेर अर्बौं रकम अपचलन गरेको खुलिसकेको छ । 

उनीबाहेक उनका सिंगो परिवार नै सहकारीको रकम ठगीमा जोडिएका छन् । ग्यालेक्सी टिभीमा जोशी सञ्चालक र लामिछाने प्रवन्ध निर्देशक थिए । तर, जीबी अझै कानुनी दायराबाहिर छन् । करिब दुई वर्षदेखि उनी सम्पर्कविहीन छन् । 

रमेश लेखक गृहमन्त्री भएपछि केही महिना जीबीबारे चासो देखाएका थिए । तर, पछिल्लो समय जीबी राई प्रहरीको खोजी सूचीमै छैनन् । लेखक मन्त्री भए लगत्तै प्रहरीको एक टोली जीबी बस्दै आएको भनिएको मलेसियासमेत पुगेको थियो । 

तर, टोलीले कुनै उपलब्धि हासिल गरेन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीका अनुसार, प्रहरीले जीबी राईबारे खासै चासो दिएको छैन ।

ती अधिकारी भन्छन्, ‘‘हामीले औपचारिक रुपमा त खोजी जारी नै छ भन्छौ । तर, उनी मलेसियामा छन् भन्ने थाहा पाएपछि भने के खोजी गर्नु ? त्यो दुई देशबीच हुने कूटनीतिक सम्बन्धमा भर पर्ने कुरा भइसक्यो । प्रहरी आफैँ मलेसिया पुगेर ल्याउने कुरा हुँदैन ।’’

राई नेपालमा नरहेको निष्कर्ष निकालेको प्रहरीले उनको खोजीका लागि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) समेत गुहारिसकेको छ ।  इन्टरपोलमार्फत उनी मलेसियामा रहेको खुले पनि पक्राउ गर्न सकेको छैन ।
मलेसिया प्रहरीले राईलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउन इन्कार गरेपछि उनी त्यही सुरक्षित रहेका हुन् । 

केन्दीय प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाका अनुसार, प्रहरीले फरार आरोपीलाई पक्राउ सम्पूर्ण प्रयास गरिरहेको छ, तर पक्राउ गर्न सकिएको छैन ।

उनले भने, ‘‘राई नेपालमा नभेटिएपछि उनको खोजीका लागि इन्टरपोलदेखि प्रहरी–प्रहरीबीचको सम्बन्धमार्फत खोजीका प्रयास गरेका थियौँ । तर सफलता मिलेको छैन । अझै खोजी कार्य जारी छ ।’’

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरका पालामा राई मलेसियामा रहेको तथ्य खुलेको थियो ।  तर, प्रहरीलाई उनी मलेसियामै छन् वा अन्य देश भागे भन्ने सूचना छैन ।  गत चैत ५ मा आईजीपी नियुक्त भएपछि दिपक थापाले समेत राईबारे चासो राखेको र कुनै ‘क्लु’ नभेटेको प्रहरी अधिकारीहरू बताउँछन् ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले पनि राईको खोजी कार्य जारी रहेको जानकारी दिए ।  ‘‘हामीले विभिन्न माध्यमबाट खोजी जारी नै राखेका छौँ । प्रहरीले अनुसन्धान गर्ने हो । त्यो गरिरहेको छ,’’ उनले भने ।

उता रास्वपाका कार्यकर्ताहरू भने आफ््ना सभापति लामिछाने पक्राउ गर्नुमात्र सरकारको उद्देश्य भएकाले सहकारीका मुख्य आरोपी राईलाई पक्राउबारे सरकार मुकदर्शक बनेको आरोप लगाउँछन् ।  जीबीले मलेसियामा व्यवसाय गरेर बसेका कारण उनलाई नेपाल फर्काउन मलेसिया सरकार अनिच्छुक देखिएको प्रहरी अधिकारी नै बताउँछन् ।

सहकारी ठगी प्रकरणबारे जिल्ला अदालत कास्कीले जीबी राईसहित १८ जनाविरुद्ध पहिलो पटक २०८० साउनमा पक्राउ अनुमति दिएको थियो ।  यसरी नै राईकै सहोदर दाइहरू ५० वर्षीय अनन्तबाबु राई र ४७ वर्षीय देवेन्द्रबाबु राईसमेत फरार छन् । 

जीबी राई मलेसिया पुगे पनि उनका दाइहरू भने भारतमा लुकेको आंशका प्रहरीको छ ।  कास्की प्रहरीले जीबी राईलाई पक्राउका लागि पुनः प्रक्रिया थालेको छ । इन्टरपोलले राईलाई रेड नोटिसमा राखिसकेको छ । कास्की प्रहरीले गएको जेठमा नै जीबीको राहदानी रद्द गर्नुपर्ने निष्कर्षसहित परराष्ट्र मन्त्रालय र राहदानी विभागलाई पत्र लेखेको थियो । 

तर, कानुनी प्रावधानका कारण उनको राहदानी अझै रद्द भएको छैन । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्