
काठमाडौं । राजावादीहरूले राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको माग गर्दै बिहीबार (जेठ १५) गते काठमाडौंमा प्रदर्शनको घोषणा गरिसकेका छन् । गत चैत १५ गते पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा तीनकुनेमा पनि राजावादीले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमान्डर दुर्गा प्रसाईंलाई बनाइएको थियो ।
तीनकुनेको प्रदर्शन अराजक बनेपछि ‘जनआन्दोलन’ एक दिनमै तुहिएको थियो । प्रदर्शनमा मानवीय र भौतिक क्षति समेत भएपछि प्रहरीले अराजक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएको थियो ।
उक्त प्रदर्शनका जनकमान्डर दुर्गा प्रसाईंसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई समेत पक्राउ गरेर कानुनी दायरामा ल्याइएको छ । प्रदर्शनका क्रममा भड्किलो भाषण गरेको आरोपमा मिश्र र राणा पक्राउ परेका थिए ।
उनीहरूसहित ६२ जनाविरुद्ध विभिन्न कसुर शीर्षकमा आइतबारमात्रै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । सोमबारदेखि उनीहरूविरुद्धको बयान सुरु भएको छ ।
सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन परिचालन समितिले बिहीबार पुनः दोस्रो प्रदर्शन गर्न लागेको हो । तर, बिहीबारको प्रदर्शनका कमान्डर भने अझै तोकिएको छैन ।
प्रदर्शनमा राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालसमेत सहभागी हुनेछन् । सुवेदी नेतृत्वको जनआन्दोलन समितिलाई जिल्ला प्रशासन काठमाडौंले चैत १५ मा प्रदर्शन गर्न तीनकुनेमा ठाउँ उपलब्ध गराएको थियो ।
त्यो बेला संवेदनशील मानिएको तीनकुनेमा स्थान उपलब्ध गराएको भन्दै जिल्ला प्रशासन कार्यालयको चर्को विरोध भएको थियो । बिहीबारको प्रदर्शनबारे जनआन्दोलन समितिले अझै जिल्ला प्रशासन कार्यालयलाई आधिकारिक जानकारी गराएको छैन ।
काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बिहीबारको काक्रमबारे अनौपचारिक जानकारी मात्रै पाएको बताए ।
“हामीलाई प्रदर्शनका लागि आधिकारिक जानकारी वा कुनै ठाउँमा प्रदर्शनका लागि भनेर ठाउँ माग भएको छैन । कसले के उद्देश्यले प्रदर्शन गर्दै छन् थाहा छैन,” सहायक जिल्ला अधिकारी भण्डारीले भने, “तर, प्रशासनले निषेधित घोषणा गरेको क्षेत्रमा कुनै पनि गतिविधि गरे सोहीअनुसार कानुनी दायरामा ल्याउँछौँ ।”
संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक सुवेदीका सहयोगी किरण ढुंगेलका अनुसार रत्नपार्कबाट सुरु हुने गरी प्रदर्शनको तयारी गरिएको छ । उनले भने, “हामी रत्नपार्कबाट प्रदर्शन गर्ने जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराउँछौँ । तर, नदिए जबरजस्त रूपमा भए पनि त्यहीँबाट गर्छौं ।”
चैत १५ गतेको जस्तो कमान्डर नतोकिने र संयोजक सुवेदीकै नेतृत्वमा प्रदर्शन हुने ढुंगेलले बताए ।
यसअघिको प्रदर्शन अराजक बनाएका राजावादीको अर्को प्रदर्शन कस्तो हो र सुरक्षा तयारी कस्तो छ भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग सोमबार सिंहदरबारमै बोलाएर जानकारी लिएका थिए ।