
काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको माग गर्दैै जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको तयारीमा रहेका राजावादी समूहका नेताहरुले सरकारले नियोजित तरिकाले दमन गर्न खोजेको भन्दै सुक्ष्म ढंगले निगरानी गरिदिन सम्पादक तथा पत्रकारहरुसँग अपिल गरेका छन् ।
काठमाडौंमा मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरुसँग कुरा गर्दै राजवादी समूहका चार नेताले यस्तो अपिल गरेका हुन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले एकै स्वरमा अनुरोध गर्दै सरकार दमनमा उत्रिने तयारीमा रहेको र कार्यकर्ता पनि त्यसैअनुसार उतार्ने तयारी गरेकाले आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई नजिकबाट नियालिदिन भनेका छन् ।
“जेठ १५ गते शान्तिपूर्ण सत्याग्रह गर्न लागेका छौँ । चैत १५ गते आयोजक जो भए पनि राज्य पक्षबाट जुन प्रकारको हिंसा भयो । गोली चल्यो त्यो दुखद् थियो,” राप्रपाका अध्यक्ष लिङ्देनले भने, “पर्सिको कार्यक्रममा पनि राज्यपक्षबाट त्यही हुँदैन भन्न सकिएन । प्रधानमन्त्रीबाट जुन प्रकारको धारणा आएको छ । त्यसले राज्यले भड्काउन खोज्दैछ भन्ने प्रष्ट छ ।”
उनले प्रतिपक्ष बलियो भएको भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तहको अभिव्यक्ति आएको बताए ।
“प्रतिपक्ष बलियो हुँदो हो त प्रधानमन्त्रीले यो बोली फिर्ता लिनुपर्ने या राजीनामा दिनुपर्ने तहको अभिव्यक्ति हो,” उनले भने, “सञ्चारमाध्यमले यो कार्यक्रमलाई पूर्वाग्रह नराखी अनुगमन गरोस् । गणतन्त्र, धर्मनिरपेक्षताको विरोध गर्नु संविधान विरोधी काम होइन । संविधानले दिएको सुविधाअनुसार प्रदर्शन गरिरहेका छौँ ।”
उनले आफूहरुको प्रदर्शन रत्नपार्कबाट सुरु हुने बताउँदै नेकपा एमालेले पनि नजिकै कार्यकर्ता उतार्ने तयारी गरेको बताए ।
“सरकारले पनि र प्रधानमन्त्रीको आफ्नो दलले नजिकै कार्यकर्ता बोलाएर प्रतिवाद गर्नेजस्ता घोषणा गरेका छन्,” उनले भने, “यी सबै विषयमा सञ्चार जगतको ध्यानाकर्षण होस् भन्न चाहन्छौँ । निष्पक्षतासाथ समाचार प्रकाशित होस् भन्न चाहन्छौँ ।”
उनले विगतबाट पाठ सिकेर अघि बढ्न खोजेको बताउँदै माघ १९ दोहोर्याउने राजा नखोजेको बताए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि सरकारले आफूहरुमाथि दमन गर्ने तयारी गरेको संकेत गर्दै नजिकबाट शान्तिपूर्ण आन्दोलनको अनुगमन गरिदिन अनुरोध गरे ।
“६२–६३ पछिको राजनीतिक परिवर्तनपछि हामी सबै शक्ति एक ठाउँमा उभिएका छौँ । हाम्रो दलबाहेक ४५ दल तथा समूह आवद्ध रहेका छन्,” उनले भने, “कतिपयलाई लाग्ला एकता कसरी सम्भव भयो । कुन स्वार्थ र कुन प्रेरणाले हामीलाई एक ठाउँमा ल्यायो । विगतमा पानी बाराबारको अवस्थामा यो १८ वर्षमा सर्वाधिक अनुकूल समय बनेको छ । हामीहरुको विचारलाई सधैँको निमित्त समाप्त पार्ने ढंगबाट सरकार र गणतन्त्र पक्षधर दलहरु सक्रिय भए ।”
उनले सरकारले पनि सोही दिन नजिकै भेला आयोजना गरेको हुनाले आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई गम्भीरतापूर्वक हेरिदिन अनुरोध गरे ।
“यहाँहरुले गम्भीरतापूर्वक हेरिदिनुहुन्छ भन्ने विश्वास लागेको छ । अहिले डिबेट सुरु हुन थाल्यो । संघीयताको विरोध गर्नु भनेको संविधान विपरीत कार्य हो,” उनले भने, “यसरी हेरिदिनुभएन ।”
राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको टिप्पणी गर्दै आफूहरुको भद्र अवज्ञा आन्दोलन भड्काउने प्रयास सरकारले गरेको बताए ।
“यो भद्र अवज्ञा आन्दोलन हो । यसमा समस्या आउलाजस्तो मानेर यहाँहरुजस्तो विद्धान पत्रकारहरुसँग सहयोगको अपिल गर्न बसेका हौँ,” उनले भने, “निहुँ खोज्नेले खोजे । देशको प्रधानमन्त्रीले यसलाई ठेगान लगा भनेपछि जोगाउनका लागि पत्रकारहरुसँग अनुरोध गर्नुपर्छ भनेर पनि उपस्थित भएका हौँ ।”
आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले पनि चैत १५ को आन्दोलनअघि प्रधानमन्त्रीबाट अहिलेजस्तै अभिव्यक्ति आएको बताए ।
उनले नजिकबाट अनुगमन गरेर सत्यतथ्य समाचार सम्प्रेषित गरिदिनुहुन अनुरोध गरे ।
“चैत १५ को केही दिनअघि पनि प्रधानमन्त्रीको यस्तै अभिव्यक्ति आएको थिो अहिले पनि आएको हुँदा हामीलाई डर लागेको छ । साक्षीका रुपमा बसिदिनू भनेर यहाँहरुलाई अनुरोध गरेका हौँ,” उनले भने ।