
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग नयाँ व्यापार तनावको संकेत गरेका छन् । बेइजिङले कर वृद्धि कम गर्ने सम्झौताको ‘उल्लंघन’ गरेको भन्दै उनले यस्तो संकेत गरेका हुन् ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँगको व्यापार वार्ता ‘केही हदसम्म अवरुद्ध’ भएको बताएको केही घण्टापछि ट्रम्पले ट्रुथ सोसल प्लेटफर्म नामक आफ्नै लगानीको सामाजिक सञ्जालमार्फत नयाँ व्यापार तनावबारे उल्लेख गरेका हुन् ।
जेनेभामा उच्च अधिकारीबीच भएको वार्तापछि विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकले एक–अर्कामाथि लगाएको उच्च करलाई अस्थायी रूपमा घटाउन यसै महिना सहमति जनाएका थिए ।
शुक्रबार ट्रम्पले लेखेका छन्, “चीनले अमेरिकासँगको सम्झौताको पूर्ण रूपमा उल्लंघन गरेको छ ।”
पोस्टको बारेमा सोधिएको प्रश्नमा अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले सीएनबीसीसँग भने, “बेइजिङले “महत्त्वपूर्ण खनिजहरू जस्ता वस्तुको आपूर्ति रोक्ने वा सुस्त बनाउने प्रक्रिया जारी राखेको छ ।”
उनले चीनसँग संयुक्त राज्य अमेरिकाको व्यापार घाटा ‘अझै पनि व्यापक रहेको’ र वासिङ्टनले बेइजिङको व्यवहारमा ठूलो परिवर्तन नदेखेको बताए ।
बिहीबार बेसेन्टले ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच यस परिस्थितिबारे कुराकानी हुने सम्भावना रहेको बताएका थिए ।राससएएफपी