site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
को गृहमन्त्री हुँदा कति गए ‘भिजिट भिसा’ मा ? बालकृष्ण खाँणदेखि ह्वात्तै बढेको थियो संख्या

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख सहसचिव तीर्थ भट्टराईमाथि ‘भिजिट भिसा’ प्रकरणमा जेठ ७ गतेदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अनुसन्धान गर्दैछ । 

विमानस्थलबाट गृह मन्त्रालय तानिएको एक दिनपछि भट्टराई नियन्त्रणमा लिएको थियो । हाल उनी अख्तियारको नियन्त्रण बाहिर त छन् तर, अनुसन्धान नियमित चलिरहेको छ ।  उनको मोबाइल नियन्त्रणमा लिँदै अनुसन्धान गरिरहेको अख्तियारले प्रमाण फेला पर्ने अपेक्षा गरेको छ ।

उनकोे मोबाइल जाँच गर्न प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनको रिपोर्ट आउन बाँकी छ । अख्तियारले भट्टराईकै मिलेमतोमा भिजिट भिसामा विदेश जाने नेपालीहरूबाट मोटो रकम असुल्ने गरेको सूचनाका आधारमा अनुसन्धान थालेको हो ।

त्यसमा अख्तियारले आर्थिक लाभ लिएको केही महत्वपूर्ण ‘क्लु’समेत फेला पारेको छ ।  अख्तियारले भट्टराईमाथि अनुसन्धान थालेसँगै गृहमन्त्रीकै मिलेमतोबिना भट्टराई एक्लैले गर्न नसक्ने भन्दै गृहमन्त्री रमेश लेखकमाथि समेत प्रश्न उठेको छ ।

प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले त गृहमन्त्री लेखकमाथि अनुसन्धान निम्ति बाटो खुला गर्न राजीनामा मागेका छन् । त्यही विषयका कारण संसद्समेत अवरोध गरेका छन् ।

जेठ १५ मा बजेट ल्याउन दिएका प्रतिपक्षी दलहरूले पुनः संसद् अवरोध गर्ने बताएका थिए ।  भिजिट भिसा सेटिङबारे जवाफ सदनमै दिन खोजेका गृहमन्त्रीले संसद् अवरोधका कारण जेठ १४ गते पत्रकार सम्मेलन गरेर आफूमाथि लागेको आरोपको प्रतिवाद गरिसकेका छन् ।

उनले भनेका छन्, ‘‘आफूमाथि निराधार रुपमा आफ्नो राजनीतिक जीवन सिध्याउन खोज्ने समूहले आरोप लगाएका छन् । यसमा मेरो कुनै संलग्नता छैन । एउटा कर्मचारीले गरेको कमजोरीमा मन्त्री नै मुछ्नुपर्ने कस्तो राजनीति हो ?’’

भट्टराईको कामकारबाही चित्त नबुझेपछि विमानस्थल अध्यागमन विभाग प्रमुखबाट कारबाहीस्वरुप मन्त्रालय तानेको पनि उनले स्पष्ट पारेका छन् । 

भट्टराईसहित अध्यागमनकै अन्य कर्मचारीहरूको समेत शंकास्पद भूमिका देखिएको थियो ।  त्यसपछि ८ जना कर्मचारीलाई विमानस्थलबाट हटाउँदै अनुसन्धान जारी छ । अध्यागमनका कर्मचारी र म्यानपावर व्यवसायी, ट्राभल एजेन्सीसित मिलेर मोटो रकम लिँदै खाडी मुलुकहरूमा महिलालाई भिजिट भिसामा पठाउने गरेको अनुसन्धानमा देखिएको छ । 

खाडी मुलुकमा भिजिट भिसामा सामान्य महिलाहरूलाई पठाउने र त्यहाँ लुकेर काम गर्दा खोज्दा महिला मानसिक तथा शारीरिक रुपमा शोषणमा पर्दै आएका छन् । अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा जानेहरूबाट रकम असुलेर पठाउने गरेको घटना उजागर भएको यो पहिलो पटक भने होइन । 

यसअघि भिजिट भिसामा जानेहरूबाट ठूलो रकम लिने गरेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपरेसन चलाएको थियो । त्यही अपरेसनमा विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का बिचौलियाबाट रकम लिँदालिँदै पक्राउसमेत परेका थिए । 

अनुसन्धान गर्दै जाँदा खड्कामात्रै नभएर विमानस्थल अध्यागमन कार्यालयकै मिलेमतोमा भिजिट भिसामा जानेहरूबाट रकम असुली गर्ने गरेको खुलेको थियो ।

अनुसन्धानका क्रममा अधिकृतहरू शैलेन्द्र ढकाल, विमल पौडेल, ताराबहादुर कुँवर, सुजन फागोसहितका कर्मचारीको पनि मिलेमतो देखिएपछि उनीहरूमाथि मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालय पठाएको थियो । त्यसमध्येका पौडेल हाल गृहमन्त्रीकै सचिवालयमा कार्यरत रहेको खुलेपछि मन्त्री लेखक अझ विवादमा तानिएका हुन् ।

कुन गृहमन्त्री हुँदा कति गए विदेश ?

अध्यागमन विभाग गृहमन्त्रालय अन्तर्गतको एक महत्वपूर्ण विभाग हो ।  विभागका कर्मचारीहरू मन्त्रालयले सरुवा गर्ने गर्छ । 

अध्यागमन विभागको अभिलेख अनुसार, गृहमन्त्री रमेश लेखक मन्त्री नियुक्त भएको १० महिना १६ दिनसम्म कुल दुई लाख ३८ हजार १८२ जना नेपाली भिजिट भिसामा देशबाहिर गएका छन् ।  जसमध्ये एक लाख तीन हजार ७६९ महिला र एक लाख ३४ हजार ४१३ जना पुरुष विदेश भ्रमणमा गएका छन् ।

लेखकले २०८१ असार ३१ मा गृहमन्त्रीको जिम्मेवारी पाएका हुन् ।  त्यसो त, भिजिट भिसामा नेपाली बाहिर जान थालेका यतिखेर मात्रै होइनन् । २०७४ सालदेखि नै दैनिक सयौंको संख्यामा नेपाली भिजिट भिसामा विदेसिने गरेको देखिन्छ ।

लेखक गृहमन्त्री हुनूपूर्व राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए ।  २०८० फागुन २३ गते गृहमन्त्री बनेका लामिछाने चार महिना नौ दिन मन्त्री बने । उनी २०८१ असार ३० गतेसम्म मन्त्री रहे । अध्यागमनको तथ्यांकअनुसार, उनको चार महिने कार्यकालमा ९३ हजार ९५२ जना नेपाली विदेसिएका थिए । 

जसमा ५४ हजार ७०१ जना पुरुष र ३९ हजार २५१ जना महिला विदेश गएको रेकर्ड छ ।  यसअघि उनको अघिल्लो कार्यकाल २०७९ पुसदेखि माघ २ गतेसम्म एक महिना दुई दिनमा समेत २२ हजार २५८ जना जना विदेश गएको देखिन्छ ।

गृहमन्त्री लामिछानेका पालामा विमानस्थल अध्यागमन कार्यालय प्रमुखमा नरबहादुर थापा र सुरेश पन्थी प्रमुख थिए ।  थापा दुई महिना १६ दिन र पन्थी चार महिना दुई दिन कार्यालय प्रमुख भएको अभिलेख छ । यसरी नै अर्का गृहमन्त्री नारायणकाजी श्रेष्ठको ११ महिना पाँच दिनको अवधिमा दुई लाख १२ हजार ७७७ जना विदेसिएका छन् । 

श्रेष्ठ २०७९ वैशाख १७ देखि २०८० फागुन २१ सम्म गृहमन्त्री थिए ।  उनका पालामा पुरुष एक लाख ३३ हजार ८११ जना र महिला ७८ हजार ९६६ जना भिजिट भिसामा विदेश गएका थिए । गृहमन्त्री श्रेष्ठका पालामा विमानस्थल अध्यागमन प्रमुखमा रामबन्धु सुवेदी र गोगनबहादुर हमाल थिए । 

सुवेदी पाँच महिना १२ दिन र हमाल छ महिना पाँच दिन प्रमुख भएको देखिन्छ । यसअघिका गृहमन्त्रीहरू बालकृष्ण खाँणका पालामा पनि दुई लाख ४३ हजार ७५४ जना विदेसिएका छन् । 

खाँणको १७ महिना १४ दिनको कार्यकालको अवधिमा १ लाख ६९ हजार ८१७ जना पुरुष र ७३ हजार ९३७ जना महिला विदेश गएको तथ्यांक छ । खाँण २०७८ असारदेखि २०७९ पुस ११ गतेसम्म गृहमन्त्री थिए ।

अध्यागमन विभागको अभिलेखले गृहमन्त्री खाँणका कार्यकालदेखि नेपालीहरू उच्च रुपमा विदेश गएको देखिन्छ ।  उनका पालामा अध्यागमन कार्यालय विमानस्थल प्रमुखमा पुष्पराज शाही र वासुदेव घिमिरे थिए । 
शाही १० महिना २५ दिन र घिमिरे छ महिना २९ दिन प्रमुख बनेका थिए । 

त्यसपछिका गृहमन्त्रीका पालामासमेत भिजिट भिसामा जानेको सख्यामा कमी देखिँदैन । खाँणअघिका गृहमन्त्री रामबहादुर थापा बादलको ४० महिना १४ दिनको कार्यकालमा जम्मा २१ हजार ६६६ जना मात्रै विदेश गएका छन् । 

जसमा १९ हजार ८ जना पुरुष र २ हजार ६५८ जना महिला छन् ।  उनी २०७४ फागुनदेखि २०७८ असार २८ गतेसम्म गृहमन्त्री थिए ।  २०७४ यता सबैभन्दा लामो अवधि गृहमन्त्रीका रुपमा थापा रहेका थिए ।
 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १९:०४
प्रतिक्रिया दिनुहोस्